संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका–२ मकालु आधार शिविरमा फसेका चार जनाको उद्धार गरिएको छ । यता, हिउँमा परेर मृत्यु भएका एक डेनमार्कका नागरिकको शव भने अझै उठाइएको छैन ।
मकालु आधार शिविरको हिउँमा फसेका काठमाडौंका अनोज चुडाल, सोलुखुम्बुका जङ्ग कुलुङ राई, दिपक कुलुङ राई, दिनेन्द्र कुलुङ राईलाई सोमबार दिउँसो हेलिकप्टरमार्फत उद्धार गरेर सोलुखुम्बु लगिएको टोलीका सदस्य निरज कार्कीले जानकारी दिए ।
विश्वको पाँचौं अग्लो मकालु हिमाल आरोहणका लागि गत असोज २५ गते तीन विदेशी पर्यटक र ७ जना नेपाली मकालु आधार शिविर पुगेका थिए । कार्कीका अनुसार सोलुखुम्बुका विष्णु कुलुङ राई र तेन्जिङ भोटेको उद्दार हुन बाँकी रहेको छ । विष्णु र तेन्जिङ मकालु गाउँपालिका–२ को लाङमालेमै रहेको कार्कीले बताए ।
हिउँमा फसेका कार्की र डेनमार्कका दुई नागरिकलाई हेलिकप्टर मार्फत उद्धार गरेर आइतबार नै काठमाडौं लगिएको थियो । डेनमार्ककै अर्का नागरिक थोर्वजन एडर्शनको भने मृत्यु भएको छ । उनको शव चार दिन बित्दा समेत उठ्न सकेको छैन । गत शुक्रबार मकालु–२ स्थित मकालु आधार शिविरमा उनको मृत्यु भएको थियो । मृतक थोर्वजन एडर्शनको शव कानुनी प्रक्रिया सकेपछि मात्र शव उठ्ने जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।