ओलीको आरोपः काँग्रेस ‘दलाल पुँजीवादी’, माओवादी ‘अवसरवादी’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेसलाई दलाल पुँजीवादी र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अस्थिर, अवसरवादी र विभाजनकारी भनेका छन् ।

शुक्रबारबाट सुरु भएको पार्टीको पहिलो विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष ओलीले यस्तो टिप्पणी गरेका हुन् ।
ओलीले प्रतिवेदनमा आफ्नो पार्टीको विभिन्न राजनीतिक दलहरूसँग प्रतिष्पर्धा र प्रतिद्वन्द्विता रहने भनेका छन् ‘नेपाली काँग्रेसको दलाल पुँजीवादी वर्ग चरित्र, नवउदारवादी पुँजीवादी बाटो, यथास्थितिवाद र राष्ट्रियताका विषयमा ढुलमुले एवम् सम्झौतापरस्त क्रियाकलापप्रति हाम्रो विरोध छ’ ओलीले भनेका छन् । त्यस्तै उनले आफ्नो मुख्य प्रतिष्पर्धा पार्टी पनि काँग्रेस नै भएको बताएका छन् ।

ओलीले माओवादी केन्द्र, मूलतः प्रचण्ड अस्थिर, अवसरवादी एवम् विभाजनकारी सोच भएको भन्दै त्यस्तो व्यवहारप्रति विमति रहने जनाएका छन् । ओलीले मधेस केन्द्रीत दलहरूमाथि पनि टिप्पणी गरेका छन् । मधेसकेन्द्रित दललाई ओलीले संकीर्ण, यथास्थितिवादी भनेका छन् । ‘मधेस–केन्द्रित दलका संकिर्ण, यथास्थितिवादी एवं राष्ट्रियताका विषयलाई असर पुर्याउने सोच र गतिविधिप्रति हाम्रो असहमति छ’, ओलीले भनेका छन् ।
ओलीले कतिपय दलहरुले राजतन्त्र फर्काउन चाहेको र कतिले धर्मलाई राजनीतिक हतियार बनाउन चाहन्छन् भन्दै यसमा आपत्ति र विरोध रहेको जनाएका छन् । ‘तर बहुदलीय प्रतिस्पर्धाका आधारमा नेतृत्व हासिल गर्ने नीति लिएको पार्टीले कुनै दल विशेषलाई प्रमुख दुश्मन घोषणा गर्ने जस्ता कम्युनिष्ट आन्दोलनका अतिवादी गल्तीबाट भने मुक्त रहनुपर्ने बताएका छन् ।

शुक्रबार, १५ असोज, २०७८, दिउँसोको ०४:४९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर