एमाले विधान महाधिवेशन सुरु

उपमहासचिव पद खारेज, ओलीले मन्तव्य टुंग्याउन सकेनन्

काठमाडौं । पार्टीको आगामी नीति तय गर्न नेकपा एमालेको पहिलो विधान महाधिवेशन सुरु भएको छ ।

ललितपुरको गोदावरीस्थित सनराइज अन्तराष्ट्रिय सम्मेलन केन्द्रको हलमा जारी महाधिवेशनमा देशभरका ६ हजार प्रतिनिधि सहभागी छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले पानसमा बत्ति बालेपछि विधान महाधिवेशनको लोगो अनावरण गरेर उद्घाटन गरेका हुन् ।

महाधिवेशनको पहिलो दिन शीर्ष नेताहरुको मन्तव्यसहित राजनीतिक, सांगठनिक र विधान संशोधन गरी तीनवटा दस्तावेज पेश छलफलका लागि पेश हुनेछन् । पेश भएका दस्तावेज दोस्रो दिन समूहगत छलफल हुनेछ । महाधिवेशनमा अध्यक्ष मण्डल पनि तोकिएको छ ।

शुक्रबारबाट सुरु भएको एमालेको प्रथम विधान महाधिवेशनमा पेश भएको विधान संशोधन प्रस्तावमा ५ जना उपाध्यक्षको व्यवस्था गरिएको छ । त्यस्तै यसअघि प्रस्ताव भएको उपमहासचिव पद खारेज भएको छ । उपमहासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्तावमा यसअघि एमालेमा ४ जना उपाध्यक्ष रहने भनिएको थियो ।

यता पौडेलले तयार पारेको विधान संशोधन प्रस्तावमा उपमहासचिवको प्रस्ताव नै गरिएको छैन । पौडेलको प्रस्तावमा ६ जना सचिव रहने गरी विधान संशोधन गर्न प्रस्ताव गरिएको छ । अहिले एमालेमा ५ जना सचिव रहेका छन् । प्रस्तावमा केन्द्रीय पदाधिकारीसमेत गरी २२५ सदस्यीय केन्द्रीय समितिको प्रस्ताव पनि गरिएको छ । प्रदेश कमिटीका अध्यक्षहरू केन्द्रीय कमिटीको पदेन सदस्य रहने व्यवस्था गर्ने पनि संशोधन प्रस्तावमा रहेको छ ।

उद्घाटन सत्रमा अध्यक्ष केपी शर्मा ओलीले स्वास्थ्य समस्याका कारण आफ्नो सम्बोधन भाषण पूरा गर्न सकेनन् । सम्बोधन भाषणकै क्रममा असजिलो महसुस गरेपछि उनले आफूलाई रुघाखोकीको समस्या रहेको भन्दै शंकर पोखरेललाई आफ्नो लिखित भाषण पढ्ने जिम्मा सुम्पिए ।

लगत्तै ओली आफ्नो आसनमा गएर बसेका छन् भने पोखरेलले ओलीका तर्फबाट लिखित भाषण बाचन गरेका छन् ।

 

 

 

 

शुक्रबार, १५ असोज, २०७८, दिउँसोको ०२:५५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर