काठमाडौं । माओवादी छाडेर एमालेमा आएका नेता प्रभु साहले शुक्रबारदेखि सुरु भएको पहिलो विधान महाधिवेशन बहिष्कार गरेका छन्।
ललितपुरको गोदावरीबाट सुरु भएको एमालेको विधान महाधिवेशनमा नेता साह सहभागी नहुने भएका हुन्।
शुक्रबार बिहान काठमाडौंमा आयोजित आफूनिकट नेताहरुसँगको छलफलपछि साहले विधान महाधिवेशनमा सहभागी नहुने निर्णय लिएका हुन्।
नेता साहले अहिलेको अवस्थामै अगाडि बढिरहे एमालेको भविष्य नरहने पनि जिकिर गरेका छन्। उनले बिहीबार राति मात्रै एमाले महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल र सचिव शंकर पोखरेलसँग छलफल गरेका थिए। तर त्यस छलफलले पनि निष्कर्ष नदिएपछि उनी महाधिवेशनमा सहभागी नहुने भएका हुन्।
नेता साहले यसबारेमा अध्यक्ष केपी शर्मा ओलीसँग छलफलका लागि भेट्ने प्रयास गरे पनि सफल नभएको बताएका छन्। उनले यही अवस्थामा एमालेका कार्यक्रममा सहभागी नहुने बताएका छन्। ‘शब्दमा नेकपा भनिए पनि व्यवहारले एमालेकै चरित्र देखाउन थालियो। एमाले भएर पनि एमालेको अस्तित्व छैन’ उनले भने, ‘अहिलेकै अवस्थामा अगाडि बढेमा विनासकाल विपरित बुद्धि मात्रै हुने पक्का छ।’
यसअघि साहले गत शुक्रबार च्यासलमा सम्पन्न केन्द्रीय कमिटी बैठकमा ८ बुँदे असहमति पत्र दर्ता गराएका थिए।