पथरी । भनिन्छ नि ‘बाह्र पछि खोला पनि फर्किन्छ’ । यस्तै आफ्नो वेपत्ता भएको छोरो पनि फर्केर आउला कि भन्ने झिनो आशामा छिन् मोरङ उर्लाबारी–२ भुसिकी ६५ वर्षीय मिना शेर्पा । उनको जिन्दगीले पछिल्लो १८ वर्ष एकपछि अर्को दुःख खेपिरहनु पर्यो । दुःख व्यहोर्नु पर्यो। तर, दुःखपछि खुसी आउला भन्ने आशामा छिन् उनी । १८ वर्षअघि जन्डिजका कारण श्रीमानको देहावसान भयो । श्रीमानको शोक ब्यहोरेकी उनलाई त्यसयता सुखका कुनै दिन आएनन् ।
श्रीमानको मृत्यु भएको तीन वर्ष नवित्दै जेठी बुहारीको मानसिक सन्तुलन गुम्यो । उनी छ महिनाको नानी घरमा छोडेर हिँडिन् । श्रीमतीको मानसिक स्थिति बिग्रिएपछि मिनाको जेठो छोरो बुद्धिमान शेर्पा उतिबेलैबाट सम्पर्कबिहीन् छन् । ‘नाती ६ महिनाको थ्यो, बुहारीको स्थिति देखेर सम्पर्कबिहीन भएको छोरो नाति १५ वर्षको हुँदा पनि केही अत्तोपत्तो छैन,’ उनी भन्छिन् । समयसँगै दिन बित्तै गए । कान्छो छोरा, बुहारी र नातिहरू सँगै बस्दै आइन् उनी ।
पीडामा नै जिन्दगी गुजार्दै आएकी उनको जीवनमा एकपछि अर्को पीडा आईरहयो । एकपछि अर्को दुःखका पहाडले उनलाई थिचिरहयो । नाति डेढ वर्षको हुँदा मिनाकी कान्छी बुहारीको पनि मृत्यु भयो । निमोनिया भएकी उनले समय मै उपचार नपाएर आफ्नो नाबालक छोरो छोडेर संसारबाट बिदा भइन् । तिनै दुइवटा नाति र कान्छा छोरासँग मिना बस्दै आइन् । समयमै आफ्नी श्रीमतीको उपचार गर्न नसकेर श्रीमती गुमाउनुको पीडा बोकेका मिनाका कान्छा छोरा बिक्रम शेर्पा घर खर्च जोहो गर्न मलेसिया गए । केही वर्ष घर खर्च पनि पठाए । तर तीन वर्षदेखि उनी पनि सम्पर्कबिहीन भए । अहिले वृद्धा मिना होस् नभएको जस्तै भएकी छन् । दुई वर्ष अघि पूर्वेली बिक्रम फेसबुक आईडीमा सेक्युरिटी कम्पनीको पोशाक भएको तस्बिर पोस्ट भएपनि त्यसयता उनले कुनै पोस्ट अपडेट गरेका छैनन् । उनी के गर्दै छन् ? जिउँदो छन् कि छैनन् भन्नेसम्म पनि केही थाहा छैन ।
नजिकिँदै गरेको दशैंमा गाउँमा सबैका छोरा प्रदेशबाट आउने भन्छन् । कतिपयले दशैं खर्च पठाएको बताउँछन् । तर, उनलाई यो सब कुरा देख्दा र आफ्नो छोरा काहाँ छ भन्ने पत्तो नहुँदा बज्रपात भएजस्तो लाग्छ । बिक्रमका १२ वर्षीय छोरा विकलले उनलाई आफ्नो बुबा कहिले विदेशबाट आउनु हुन्छ ? मलाई नयाँ नाना के ल्याईदिने रे ? के खानेकुरा ल्याईदिने रे ?… आदि प्रश्न सोधेर हैरान बनाउँछ्न् ।
‘दिनै पिच्छे सोध्ने गर्छ हजुरआमा मेरो बुबा कहिले आउनु हुन्छ ? यो दशैंमा त पल्ला घरे काका पनि विदेशबाट आए,’ उनी भन्छिन्, ‘आफ्ना छोराछोरीलाई नयाँ नाना र मिठो खानेकुरा ल्याईदिएछ्न् । भन्नू न आमा मेरो बुबा कहिले आउने रे मलाई के के ल्याईदिने रे ?’ पतिको देहावसान भएको पीडा भुल्न नपाउदै दुबै छोरा बेपत्ता भएपछि उनको जिन्दगी पीडै पीडाले थिचिएको छ । आफू सकुशल हुँदा नजिकैको जङ्गलबाट घाँस दाउरा गर्दै बाख्रा पालन गरेर घर खर्च र दुई नातिको पालनपोषणसहित खर्च चलाउँदै आएकी उनलाई अहिले बिरामले च्यापेको छ । नशाको बिरामले थलिएकी उनलाई नातिको हेरचाह गर्नै सकस परेको छ।
यस्तो बेला हराएका दुई छोरा आईदिए आफूलाई सहारा हुने उनी बताउँछिन् । डाक्टरले उनलाई औषधि दिएर आराम गर्न सल्लाह दिएका छ्न् । तर उनलाई डाक्टरले दिएको औषधि कुन–कुन समयमा खाने भन्ने पनि छिन भरमै भुल्छिन् । उनी भन्छिन, ‘कुन औषधि कुन समयमा खाने त भुल्छु, मैले आराम गर्ने हो भने मेरा दुई नाती भोकले नै मर्छन्,’ उनी गह भरी आँसु पार्दै भन्छिन्, ‘वेपत्ता भएका छोराहरू आइदिए आफू मरेपनि शान्तिका साथ सास जान्थ्यो । यिनै नातीहरूको पीर हुन्थेन, ढुक्कका साथ मर्न पाउँथे ।’ उनले आफ्नो छोराको तस्बिर देखाउँदै मलेसियाबाट सम्पर्कबिहीन भएको आफ्नो छोरो खोजी गरिदिन सबैलाई आग्रह गरेकी छ्न् ।