विराटनगर । स्वास्थ्य बीमा गराएपछि अस्पतालमा उपचार गराउँदा सहुलियत हुन्छ भन्ने कुरा बेलबारी ६ का सन्तोष मोची चमारले सुनेका थिए । टोल समाजका केही मानिसले स्वास्थ्य बिमा गराएको खबर पनि उनी सुन्थे तर, खासै वास्ता गर्दैनथे ।
परिवारको स्वास्थ्य बीमा गराउन एकमुष्ठ जम्मा गर्नुपर्ने ३५ सय रुपैयाँको प्रबन्ध नभएकैले उनले बिमा गर्नेतर्फ ध्यान दिएका थिएनन् । बीमाका लागि रकम खर्चगर्दा उनको दैनिकि बिग्रिन्थ्यो । कहिलेकाँही पैसा हुँदा त्यसतर्फ सन्तोषको ध्यान जाँदैनथ्यो ।
दैनिक कमाएर हातमुख जोर्नुपर्ने विपन्नहरुका लागि सरकारले राम्रै कार्यक्रम ल्याएपनि सुविधा उपभोग गर्न कति गाह्रो हुन्छ भन्ने एउटा उदाहरण पनि हुन् सन्तोष । उनले चाहेर पनि बिमा गराउन सकिरहेका थिएनन् ।
अहिले भने सन्तोषले आफ्नो परिवारको स्वास्थ्य बीमा गराएका छन् । सन्तोष र उनीजस्तै आर्थिक विपन्नतासँगै जुध्दै आएका थुप्रैले असारमा स्वास्थ्य बीमा गराए । स्थानीय सरकारले विपन्न लक्षित स्वास्थ्य बिमा प्रिमियम भुक्तानी कार्यक्रम सञ्चालन गरेपछि सन्तोष पनि स्वास्थ्य बीमा कार्यक्रममा सहभागी बने ।
उनको चार जनाको परिवारको स्वास्थ्य बिमा भएको छ । उनीहरुले प्रतिपरिवार एक लाख रुपैयाँसम्मको उपचार तथा औषधि उपभोग गर्न पाउने छन् । बेलबारी नगरपालिकाले केही वर्षयता सञ्चालन गर्दै आएको सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमलाई स्वास्थ्य बिमा कार्यक्रममा रुपान्तरण गर्ने निर्णय गर्दै अतिविपन्न परिवारको स्वास्थ्य बीमा गराउने र त्यसमा लाग्ने प्रिमियम नगरपालिकाले तिरिदिने योजना अगाडि सा¥यो । त्यस योजनाबाट सन्तोष जस्ता थुप्रैको स्वास्थ्य बिमा भएको छ ।
बेलवारी नगरपालिका–६ का ३४ वर्षीय गोपाल सार्की स्वास्थ्य बीमा कार्यक्रममा सहभागी हुन सकेका थिएनन् । आथिक अभावकै कारण स्वास्थ्य बिमा गराउने सोच बनाउन सकेका थिएनन् । नगरपालिकाले सञ्चालन गरेको यस कार्यक्रमको लाभ उनले पनि पाए । गोपालको चार जनाको परिवारको स्वास्थ्य बीमा नगरपालिकाले गरिदियो ।
गोपालको परिवार निशुल्क रुपमा स्वास्थ्य बीमा कार्यक्रममा सहभागी भए । बेलवारी नगरपालिका–६ मा बसोवास गर्ने अतिविपन्न, असहाय, निमुखा र दलित परिवारका पाँचजना सदस्यसम्मको स्वास्थ्य बीमा कार्यक्रममा सहभागी हुँदा लाग्ने प्रिमियम वडा कार्यालयले नै तिरिदिएको वडाध्यक्ष उदयबहादुर राईले बताए । परिवारमा ५ जनाभन्दा बढी सदस्य भए थप हुने प्रतिसदस्यको ७ सय रुपैयाँका दरले रकम तिरेर बीमा गराउने सुविधा दिइएको उनले बताए ।
बेलबारी नगरपालिका ६ मा मात्र अघिल्लो आर्थिक वर्षको अन्तिम महिनामा १४५ अतिविपन्न परिवारको स्वास्थ्य बिमाको प्रिमियम वडा कार्यालयमार्फत भुक्तानी भएको बीमा दर्ता सहयोगी दमयन्ती गच्छदारले बताइन् । वडाले वास्तविक विपन्न परिवारको पहिचान गरेर मात्र यस्तो कार्यक्रममा सहभागी गराएकोले दुरुपयोगको सम्भावना न्यून रहेको उनको भनाइ छ ।
बेलवारी नगरपालिका–६ ले सामाजिक विकास कार्यक्रमका रूपमा सुरूआत गरेको कार्यक्रमले आधारभूत स्वास्थ्य अधिकारबाट बञ्चित भएका समुदायका परिवारको स्वास्थ्य अधिकार सुनिश्चित भएको बेलवारी नगरपालिका–६ का वडाध्यक्ष उदयबहादुर राई बताउँछन् । असार महिनामा बिमा गराएका विपन्नहरुले भदौ महिनाबाटै सेवा पाउन थालेका छन् ।
स्थानीय १४ वर्षे युवराज राम भदौ तेस्रो साता बिरामी परे । स्थानीय स्वास्थ्य चौकीमा उनको उपचार नहुने भएपछि उपचारका लागि बुढीगङ्गा गाउँपालिका–२ स्थित विराट टिचिङ्ग अस्पतालमा रेफर गरियो । अस्पतालमा बालकको उपचार भयो । उनै सन्तोष मोची चमार जसले रकम अभावमा स्वास्थ्य बिमा गराउन सकेका थिएनन्, छोरा बिरामी हुँदा विमा गराउँदाको फाइदा राम्रोसँग अनुभूत गरे । उनले छोराको उपचारका लागि साहुसँग ऋण काड्नु परेन ।
बेलबारी ६ ले विपन्न समुदायलाई स्वास्थ्य बीमा कार्यक्रममा सहभागी हुन सार्वजनिक सूचना प्रकाशन गरेर जानकारी दिएको थियो । बीमा प्रिमियम तिर्न नसक्नेहरुलाई आवेदन दिन आव्हान गरेको वडाध्यक्ष राईले बताए । प्रदेश १ का जिल्लाहरुमा २०६७ सालदेखि स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको हो । अहिले प्रदेश १ का सबै जिल्लामा यो कार्यक्रम कार्यान्वयनमा छ ।