काठमाडौं । विधान अधिवेशनको एजेण्डा तय गर्न बसेको नेकपा एमाले केन्द्रीय समितिको बैठक जारी छ ।
आजको बैठकमा लुम्बिनी, बागमती र प्रदेश १ प्रदेश कमिटी टोली नेताले विधान महाधिवेशनमा पेस गर्ने राजनीतिक र सांगठनिक प्रतिवेदन तथा विधान संशोधनको प्रस्तावका सन्दर्भमा सुझाव दिएका छन् । बैठकमा लुम्बिनी समूहका टोली नेता दलबहादुर रावलले प्रतिवेदनमा नेकपा एमालेको निरन्तरतासँगै जनयुद्धको निरन्तरता पनि उल्लेख गर्न नेतृत्वलाई सुझाव दिएका छन् । उनले पार्टी एमाले भएपनि राजनीतिक रुपमा नेकपाकै निरन्तरता हो भनेर लेख्न समेत सुझाव दिए ।
त्यस्तै बागमतीका टोली नेता आनन्द पोखरेलले सरकारमा जाने नेताहरुले पार्टीको निर्देशन मान्नुपर्ने सुझाव दिए । उनले आन्तरिक जीवनमा देखिएको समस्यालाई हल गरेर जानुपर्ने सुझाव समेत नेतृत्वलाई दिएका छन् । यस्तै उनले फौजदारी अभियोग लागेर कारवाही भोगेको व्यक्तिलाई जिम्मेवारी दिनु नहुनेमा जोड दिएका छन् ।
प्रदेश १ का टोली नेता हिक्मत कार्कीले सात प्रदेशबाट प्रतिनिधित्व हुने गरी केन्द्रीय समितिमा ७ जना उपाध्यक्ष बनाउन सुझाव दिए । उनले संक्रमणकालीन अवस्था भएकाले २२५ भन्दा बढी सदस्य भएको केन्द्रीय कमिटी बनाउन सुझाव दिए ।
उनले संसद विघटन र पार्टी विभाजनको कुरा पनि प्रस्ट रुपमा राजनीतिक प्रतिवेदनमा उल्लेख गर्नुपर्ने सुझाव दिए । पार्टीले निर्वाचन प्रणाली सुधारमा जोड दिनुपर्नेमा समेत उनले जोड दिए । उनले वामपन्थी र लोकतान्त्रिक शक्तिसँग एकता र सहकार्य गर्न सुझाव दिएका छन् ।