विराटनगर । पार्टी विभाजन भएको एक महिना बित्नै लाग्दा नेकपा एमालेमा फेरी विवाद बढ्न थालेको छ । वरिष्ठ नेता माधवकुमार नेता, झलनाथ खनालहरुले एमालेबाट विद्रोह गरी नयाँ पार्टी गठन गरेपछि नेपाल–खनाल समूहमा रहेका १० जना स्थायी कमिटी सदस्यहरु नेकपा एमालेमै फर्किएका थिए । नेकपा एमाले र असन्तुष्टहरुले गठन गरेको कार्यदलले १० बुँदे सहमति गर्दै पार्टी एकता जोगाउने भन्दै विद्रोहलाई साथ नदिएका उनीहरुले पार्टीले निर्णय गरेको सहमति कार्यान्वयन नगरेको भन्दै फरक प्रस्तव पेश गरेपछि विवाद बल्झिएको हो ।
नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओली र तेस्रो धारका नेताहरूबीच सवाल जवाफनै भएको छ । अध्यक्ष ओली र नेताहरुबीच १० बुँदे एकता प्रस्ताव कार्यान्वयन र विधान महाधिवेशनमा छनोट हुने प्रतिनिधिको विषयलाई लिएर विवाद चर्किएको हो । उनीहरुले मनोमानी ढंगले पार्टी चलाइएको भन्दै अध्यक्ष ओलीले जारी गरेको अन्तरपार्टी निर्देशन सच्याउनु पर्ने बताएका छन् । तर, अध्यक्ष ओलीले उनीहरुको कुरा ठाडै अस्वीकार गरिदिएका छन् ।
बैठकमा केही नेताहरूले १० बुँदे सहमति र विधान महाधिवेशनका प्रतिनिधि छनोटबारे प्रश्न उठाएपछि तेस्रो धारका अन्य नेताहरूले पनि उनीहरूको मागमा सहमति जनाएका थिए ।
एकता प्रस्ताव भन्दै गत असार २८ गते एमालेका १० नेता रहेको कार्यदलले १० बुँदे प्रस्ताव अघि सारेको थियो । जसमा पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काएर क्रियाशील बनाउनुपर्ने मूल आशय थियो । तर, उक्त प्रस्ताव कार्यान्वयन नभएको भन्दै सुदूरपश्चिम, बागमती र प्रदेश १ मा एमालेको झगडा चर्किँदै गएको छ । तर, अध्यक्ष ओलीले विधान महाधिवेशनसँग सम्बन्धित एजेण्डा भएकाले यससँग केन्द्रित रहेर मात्रै छलफल हुने बताएको एक केन्द्रीय सदस्यले बताए ।
१० बुँदे सहमति कार्यान्वयनको विषय केन्द्रीय कमिटीको बैठकको एजेण्डा बन्नुपर्ने मागमा ओली सहमत नभएपछि बैठकबाट तेश्रो धारका नेताहरु बाहिरिएका थिए । उनीहरुले सहमति पालना नभए शनिबारदेखिको बैठक पनि बहिष्कार गर्ने चेतावनी दिइसकेका छन् । तेस्रो धार निकट एक केन्द्रीय सदस्यले भने, ‘संस्थापन पक्षले यसरी पेलेरै जाने हो भने हामी एमालेमा बस्न आवश्यक छैन ।’
जेठ २ मा फर्कँदा भीम रावल सुदूरपश्चिमको इञ्चार्ज हुनुपर्नेमा अध्यक्ष ओलीले माओवादीबाट आएका लेखराज भट्टलाई नै इञ्चार्जका रूपमा काम गर्न निर्देशन दिएका छन् । यता बागमती प्रदेशमा पनि अष्टलक्ष्मी शाक्य इञ्चार्ज हुनुपर्नेमा रामबहादुर थापा बादलले उक्त भूमिका निर्वाह गरिरहेका छन् । यस्तै प्रदेश १ मा भीम आचार्यले इञ्चार्जको भूमिका निर्वाह गर्न पाएका छैनन् ।
एमाले अध्यक्ष ओली र महासचिव ईश्वर पोखरेलले यसअघि १० बुँदे प्रस्ताव हुबहु भन्दा पनि रचनात्मक ढङ्गले कार्यान्वयन गर्ने भन्दै बेवास्ता गर्दै आएको तेस्रो धारका नेताहरूको गुनासो छ ।