काठमाडौं । नेपाली काँग्रेसले असोज १८ गतेअघि २१ जिल्लाको अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ । आज साँझ बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले हिमाली जिल्लामा पूर्वनिर्धारित समयमै अधिवेशन गर्ने निर्णय गरेको हो ।
वडा अधिवेशन सकिएका ६४ जिल्लामा ९ असोजमै पालिका तहको अधिवेशन सुरु हुनेछ । दसैँपछि हिमाली जिल्लामा चिसो बढ्ने भएकाले असोज १८ भित्रै २१ जिल्लामा अधिवेशन सम्पन्न गरिने काँग्रेसले जनाएको छ ।
ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, रसुवा, मनाङ, मुस्ताङ, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट, बाजुरा, बझाङ, दार्चुला, धादिङ, रामेछाप, गोरखा, रुकुम (पूर्व) र म्याग्दी गरी २१ जिल्लामा असोज १८ भित्र जिल्ला अधिवेशन सम्पन्न हुने छ । तर, डोल्पा र रसुवामा भने क्रियाशील सदस्यताकै टुंगो लागेको छैन ।
डोल्पा र रसुवाको पनि दसैँअघि नै सकिने जनाइएको छ । २१ जिल्लामा एक निर्वाचन क्षेत्र भएको जिल्लामा १५ गते सकिन्छ । १५ गतेदेखि २० गतेसम्म डोल्पा र रसुवामा पनि अधिवेशन सम्पन्न हुन्छ । ५६ जिल्लाको प्रदेश, प्रतिनिधि सभा निर्वाचन क्षेत्र र जिल्ला अधिवेशन दसैँ र तिहारको बीचमा सकिने कांग्रेसको भनाइ छ ।
१२ असोजमा प्रदेश सभा क्षेत्र, १५ असोजमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र तथा एकमात्र क्षेत्र भएका जिल्लाको अधिवेशन र १८ असोजमा दुई वा सोभन्दा बढी क्षेत्र भएका जिल्लाको अधिवेशन गर्ने कार्यतालिका छ । ५६ जिल्लामा उक्त तालिका अनुसार अधिवेशन नहुने भएको छ ।
यस्तै प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मंसिर ९ देखि १३ गतेसम्म तय गरिएको छ । प्रदेश अधिवेशन र महाधिवेशनको कार्यतालिका पनि परिर्वतन हुने भएको छ ।
आजको छलफलको निष्कर्षले मंसिर ९ गतेदेखि १३ गतेको महाधिवेशनको मिति पनि सर्ने सम्भावना देखिएको छ । महाधिवेशनको नयाँ मिति भने अर्को बैठकले टुंग्याउने कांग्रेसले जनाएको छ ।
– रातोपाटीबाट साभार