काठमाडौं । एमालेबाट विभाजित बनेर बनेको नयाँ पार्टी नेकपा एकीकृत समाजवादीको महासचिव वेदुराम भुषाल बन्ने भएका छन् ।
यस्तै उपाध्यक्षमा राजेन्द्र पाण्डे, धर्मनाथ साह, जयन्ती राई र प्रमेश हमाल चयन भएका छन् । उपमहासचिवमा डा. विजय पौडेल, डा. गंगालाल तुलाधर र प्रकाश ज्वाला चयन भएका छन् । सचिवमा रामकुमारी झाँक्री, जगन्नाथ खतिवडा, नागेन्द्र चौधरी, केशवलाल श्रेष्ठको नाम टुंगो लागेको छ ।
सो पार्टीको सचिवालयको आज बिहान बसेको बैठकमा सो सहमति भएको हो । पदाधिकारीबारेको सहमति आजै केन्द्रीय समिति बैठकमा पेश हुनेछ । यसअघि पार्टीको महासचिवका लागि भुसालसँगै मुकुन्द न्यौपाने, राजेन्द्र पाण्डे, गंगालाल तुलाधार, प्रकाश ज्वाला, विजय पौडेललगायतले दाबी गरेका थिए । गत मंगलबारदेखि शुरु भएको समाजवादी केन्द्रीय कमिटी बैठक आजै सकिँदैछ ।
एकीकृत समाजवादीको अन्तरिम विधानमा १ जना अध्यक्ष, वरिष्ठ नेता १,उपाध्यक्ष ७, महासचिव १, उपमहासचिव २ र सचिव ७ गरी १७ जना पदाधिकारीसहित ११५ पूर्ण र ३६ वैकल्पिक गरी १५१ सदस्यीय रहने व्यवस्था गरेको छ । केन्द्रीय कमिटीभित्र केन्द्रीय पदाधिकारी र स्थायी कमिटी सदस्यसहित ५१ सदस्यीय पोलिटब्यूरो र पदाधिकारीसहित २१ सदस्यीय स्थायी कमिटी रहने छ ।