काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नारायण खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेका छन् ।
बुधबार बिहान उनले कांग्रेसको परराष्ट्र विभागका प्रमुखसमेत रहेका खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरिएको जानकारीसहितको पत्र राष्ट्रपति कार्यालयमा पठाइसकिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नवनियुक्त मन्त्री खड्काको शपथग्रहण शीतल निवासमा दिउँसो १ बजे हुने पनि सचिवालयले जनाएको छ ।
मन्त्री नियुक्तिमा देउवाले एकलौटी निर्णय गरेको भन्दै पौडेल समूहले असन्तुष्टि व्यक्त गरेको छ । अहिलेसम्म कांग्रेसबाट मन्त्री बनेका सबैजना देउवानिकट मानिन्छन् । देउवाले मन्त्रिपरिषद् विस्तार र पार्टीको आगामी महाधिवेशनका बारेमा छलफल गर्न भन्दै बुधबार दिउँसो ३ बजे पदाधिकारी बैठक बोलाएका छन् । तर पदाधिकारी बैठकअघि नै खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेका हुन् । कांग्रेस सभापतिसमेत रहेका देउवाले पदाधिकारी बैठकअघि नै खड्कालाई मन्त्री नियुक्त गरेका हुन् ।
प्रधानमन्त्री देउवाले शपथ खाएको साढे दुई महिना पुग्नै लाग्दा एक मन्त्री थपेका हुन् तर सरकारका १६ मन्त्रालय अझै नेतृत्वविहीन रहनेछन् । संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा पठाउन प्रतिनिधि नभएपछि प्रधानमन्त्रीले कांग्रेस नेता नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाएका हुन् ।