पाँच दलीय गठबन्धन र सरकारको निर्णय

डा. खड्का परराष्ट्रमन्त्री बन्ने, ११ राजदुत फिर्ता, २२ देशमा राजदूत पद खाली

विराटनगर । सत्तारुढ पाँच दलीय गठबन्धनले परराष्ट्रमन्त्रीमा कांग्रेसका नेता डाक्टर नारायण खड्कालाई सिफारिस गर्ने भएको छ । यस्तै आजै बसेको मन्त्रीपरिषद बैठकले विभिन्न देशका ११ राजदुतलाई फिर्ता बोलाउने निर्णय पनि गरेको छ ।

बालुवाटारमा आज बसेको गठबन्धनको बैठकले खड्कालाई भोली नै सपथ गराउने गरी निर्णय गरेको हो । खड्का यसअघि सहरी विकास मन्त्री भएका थिए । खड्का उदयपुर क्षेत्र नम्वर १ बाट लगातार निर्वाचित हुँदै आएका छन् ।

यसैबीच सरकारले ११ जना विभिन्न देशका राजदुतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । आज बसेको मन्त्रीपरिषद् बैठकले राजनीतिक नियुक्तिबाट गरिएका सबै राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

यसरी फिर्ता हुने राजदुतहरुमा वंशीधर मिश्र (बंगलादेश), महेन्द्रबहादुर पाण्डे (चीन), निलाम्बर आचार्य (भारत), युवराज खतिवडा (अमेरिका), सर्मिला पराजुली ढकाल (ओमान), नारदनाथ भारद्वाज (कतार), दावा फुटी शेर्पा (स्पेन), निर्मलकुमार विश्वकर्मा (दक्षिण अफ्रिका), उदयराज पाण्डे (मलेसिया), अन्जन शाक्य (इजरायल) र लोकदर्शन रेग्मी (बेलायत) रहेका छन् ।

यसअघि सरकारले ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । यससँगै नेपालका २२ देशमा राजदूत पद खाली भएका छन् । पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलको सुझाव अनुसार ओली सरकारले नियुक्त गरेका राजदुत फिर्ता बोलाइएको हो ।

मङ्गलबार, ०५ असोज, २०७८, रातीको ०९:४० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर