विराटनगर । नेपाली कांग्रेसको भोली (असोज ५ गते) मङ्गलबारदेखि हुने १४ औं महाधिवेशन रोकिने सम्भावना बढेको छ । पूर्व राप्रपा संयुक्त सुनिल थापा समूहबाट समायोजन भएका ५५५ जनाको क्रियाशिल सदस्यता नआएको भन्दै उच्च अदालत मोरङमा अधिवेशनका लागि निर्वाचन प्रक्रिया रोक्न माग गर्दै मुद्दा परेको छ ।
समायोजन प्रक्रियामा थापा समूहबाट मोरङमा ७६० जनाको क्रियाशिल सदस्यता फारम भरिएको थियो । तर, ५५५ जनाको नाम नआएपछि विराटनगर १ का रुद्रबहादुर कार्की, विराटनगर ६ का हरि प्रसाद दाहाल र महेशकुमार मिश्रा, विराटनगर १५ का पवन कुमार साहले मुद्दा दर्ता गराएका हुन् । उनीहरुले निर्वाचन प्रक्रिया रोक्न अन्तरिम आदेशसहित उत्प्रेषा, निषेधायूक्त परमादेशलगायतको उपर्युक्त आदेश जारी गर्न माग गरेका छन् ।
निवेदनकहरुले नेपाली कांग्रेस मोरङ, मोरङका कांग्रेस सभापति डिकबहादुर लिम्बू, मोरङ कांग्रेसका मुख्य निर्वाचन अधिकृत केदार कार्की र नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपालाई विपक्षी बनाएका छन् ।
‘विपक्षीहरुको कार्यविधिगत व्यवस्थाहरु प्रतिकूल तथा कानुन संविधान विपरीत कार्य गरे गराएको हुँदा निर्वाचन कसुर तथा (सजाय) ऐन २०७३ को दफा ४६ तथा नेपालको संविधानको धारा १४४ बमोजिम तथा मुलुकी देवानी संहिता २०७४ को दफा ६, ७, ८, ९, १०, १२, १७, १८, २० बमोजिम विपक्षीहरुको उक्त सम्पूर्ण काम कारबाही मिति २०७८/०६/०५ गतेको निर्वाचन सोसँग सम्बन्धीत निर्वाचनका कार्यक्रम उत्प्रेषणको आदेशले बदर गरी पाउन न्याय प्रशासन ऐन २०७३ को दफा ८ (१) बमोजिम यो रिट निवेदन गर्दछौं,’ रिट निवेदनमा उल्लेख छ । थापा समूहबाट २०७७ चैत २२ गते मोरङबाट ७६० जना समायोजन भई पार्टीको निर्णय बमोजिम नयाँ क्रियाशिल सदस्यता फारम नं.५२२६७८ देखि ५२३४३७ सम्म क्रियाशिल फारम भरेको उनीहरुको तर्क छ ।
सोही तर्क अनुसार ‘मोरङको महाधिवेशन तत्काल सोही स्थितिमा रोक्नु, यथास्थितिमा राख्नु, वा अन्य निर्वाचन सम्बन्धीका कुनै काम कारबाही नगर्नु नगराउनु समेत भनि मुलुकी देवानी संहिता २०७४ को दफा २६ (५) मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १५८ बमोजिम र उच्च अदालत नियमावली २०७३ को नियम ४२ बमोजिम विपक्षीहरुको नाममा निषेधायूक्त अन्तरिम आदेश तथा अन्य उपर्युक्त आदेश समेत जारी गरि पाउँ,’ निवेदनमा उल्लेख गरिएको छ, ‘साथै निवेदकहरुको मतअधिकारलाई सुनिश्चित गर्ने मतदाता नामावली प्रकाशत गरी पुनः हामी निवेदकहरु ५५५ जना समेतलाई सहभागी गराई केही दिनपछि सारी अर्को निर्वाचन मिति तय गरी निर्वाचनका कार्यक्रम सार्वजनिक गर्नु गराउनु भनि परमादेशको आदेश तथा अन्य उपर्युक्त आदेश जारी गर्नुपर्ने भए सो समेत जारी गरी पाउन सादर अनुरोध गर्दछौं ।’
निवेदकहरुले राप्रपाबाट कांग्रेसमा समायोजन भएको परिपत्र र नामावलीलगायतका कागजात बुझाएको छ । उक्त रिट निवेदनको सुनुवाईका लागि मङ्गलबार पेशी तोकिएको छ । मङ्गलबार नै निर्वाचन हुने तय भएको कांग्रेसको अधिवेशन यो मुद्दासँगै अन्यौलमा परेको छ । कांग्रेसका नेता केदार कार्कीले भने निर्वाचन प्रक्रिया नरोकिने र अदालतले आदेश दिएको खण्डमा क्रियाशिल सदस्यता पाउने बताए ।
मोरङमा नेपाली कांग्रेसका १४ हजार ५०० जना नयाँसहित ३० हजार ७ सय क्रियाशिल सदस्य छन् । ती सदस्यहरुबाट निर्वाचित जिल्लाका झण्डै ३ हजार क्षेत्रीय प्रतिनिधिको मतदान प्रक्रियाबाट जिल्ला समितिको चयन हुनेछ । त्यसमध्ये धेरैको क्रियाशिल सदस्यता नामावलीमा नसमेटिएको भन्दै विभिन्न ठाउँमा असन्तुष्टी व्यक्त भइरहेका छन् । प्रदेश १ का अन्य १३ जिल्लाका सबै वडामा अधिवेशन सम्पन्न भइसकेको छ । प्रदेश १ का ११५७ वटा वडामध्ये मोरङको भने अधिवेशन हुन बाँकी छ । असोज ५ गते वडाको अधिवेशन सकिएपछि असोज ९ गते पालिका अधिवेशन गर्ने कांग्रेसको तयारी छ ।
प्रदेश निर्वाचन क्षेत्रमा असोज १२ गते तथा एक मात्र निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन असोज १५ गते गरिनेछ । एकभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा असोज १० बाट असोज १८ का लागि अधिवेशन सारिएको छ । प्रदेशको अधिवेशन भने कात्तिक १० देखि १२ सम्म हुनेछ भने मंसिर ९ देखि १३ मा महाधिवेशन गर्ने काँग्रेसको तयारी छ ।