विराटनगर । प्याब्सन नेपालका केन्द्रीय अध्यक्ष टिकाराम पुरीले आफूलाई शैक्षिक अभियान्ता भन्नेहरूले निजी विद्यालयहरू धरापमा बनाउन लागि परेको आरोप लगाएका छन् ।
प्याब्सन नगर समिति विराटनगरको बिहीबार भएको अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष पुरीले शैक्षिक अभियान्ता भन्नेहरू सुनियोजित रूपमा निजी विद्यालयहरू धरापमा बनाउन लागि परेका बताएका हुन् ।
‘न कुनै सेवामा छन् । न वस्तु उत्पादन गर्दछन् । डुलेर हिंड्छन् । चन्दाको भरमा हाम्रो पैसा खान्छन् । हाम्रै विरोध गर्दै हिंडेका छन् । अब यस्ता आफूलाई शैक्षिक अभियान्ता भन्नेहरूको हामीले विरोध गरिनुपर्नेछ,’ प्याब्सन अध्यक्ष पुरीले भने, ‘कुनै सरोकारनै नभएका व्यक्तिहरू आफूलाई अभियान्ता भन्नेहरू निजी विद्यालय धरापमा पार्न सुनियोजित रूपमा लागि परेका छन् । आफूलाई अभियान्ता भन्नेहरूको अब हामीले खुलेर विरोध गर्नुपर्नेछ ।’
कुनै सरोकार नभएका व्यक्तिहरू अहिले निजी विद्यालयहरूको विरोधमा लागि परेको उनको भनाइ छ । ‘सरोकारवाला हाम्रो अभिभावक भएको भए हामी मान्छौं । तर, कुनै रिलेसन नभएका र सम्बन्ध लगाएर हाम्रो विरोध गर्नेको अब हामीले खबरदारी गरेर अगाडि बढ्नुपर्ने बेला आएको छ,’ उनले भने ।
अध्यक्ष पुरीले स्थानीय सरकारलाई र जनप्रतिनिधिलाई शिक्षा नीति निर्माणमा सहजता प्रदान गराउन नगर प्याब्सन पनि लाग्नुपर्ने बताए । अध्यक्ष पुरीले अब नगर जिल्ला हँुदै प्रदेश प्याब्सनको अधिवेशन हुँदै केन्द्रीय अधिवेशन पनि क्रमशः हुँदै जाने बताए । उनले केन्द्रीय कार्य समितिको बैठकले मंसिरमा जिल्ला र पुसमा प्रदेश प्याब्सनको अधिवेशन भई नयाँ नेतृत्व चयन हुँदै जाने जानकारी गराए ।
कार्यक्रममा हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, प्याब्सन केन्द्रीय सचिव राजेशकुमार दास, प्याब्सनको सल्लाहकार डा. उद्धब पोखरेल, केन्द्रीय सदस्य बासुदेव न्यौपाने, एनप्याब्सनका राजन छाराहाङ, विराटनगर प्याब्सनका अध्यक्ष इन्द्र राई, नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष संजीव खनाललगायले बोलेका थिए ।
सोही अवसरमा नेपाल पत्रकार महासंघ मोरङका सदस्य तथा मकालु टेलिभिजनका पत्रकार पदम सरदार नगदसति सम्मानित भए । प्याब्सन विराटनगरले सरदारलाई शिक्षा क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै सरदारलाई सम्मान गरेको सचिव अर्जुन श्रेष्ठले जानकारी दिए । सम्मानित भएका सरदारलाई प्याब्सनका केन्द्रीय अध्यक्ष टिकाराम पुरी, सल्लाहकार प्रेमलालसिंह सुवाल, प्याब्सन विराटनगरका अध्यक्ष इन्द्र राईलगायतले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।