विराटनगर । संखुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको घटनामा हराइरहेको फोन प्रहरीले फेला पारेको छ।

प्रहरीले सो मोबाइल फोन ६ जनाको हत्या आरोपमा पक्राउ परेका लोकबहादुर कार्कीका १७ वर्षीय भाइको साथबाट फेला पारेको संघीय इकाइ प्रहरी कार्यालय धरानका प्रहरी उपरीक्षक भीम दाहालले जानकारी दिए।

भदौ २१ गते सोमबार बिहान मादी नगरपालिका वडा नम्बर १ उम्लिङमा एकै परिवारको ६ जनाको हत्या भएको थियो।

तेजबहादुर कार्कीसहित उनकी ८४ वर्षीया आमा पार्वता, ५८ वर्षीया श्रीमती मनमाया, २५ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र ५ वर्षीया नातिनी गोमाको हत्या भएको थियो। उनीहरूको हत्या गरेको आरोपमा प्रहरीले छिमेकी तथा भतिज नाता पर्ने लोकबहादुरलाई गत शुक्रबार पक्राउ गरेको थियो। शुक्रबार पक्राउ गरी आइतबार पत्रकार सम्मलेनमार्फत् उनलाई सार्वजनिक गरिएको थियो।

उनीमाथि थप अनुसन्धान गरिरहँदा प्रहरीले बुहारी रञ्जनाको मोबाइल फोन फेला पारेको हो। लोकबहादुरका भाइले गोठमा लुकाइरहेको अवस्थामा फेला परेको प्रहरी उपरीक्षक भीम दाहालले बताए।

‘अभियुक्तको भाइको साथबाट फेला परेको छ। उनले गोठमा लुकाएको भन्ने छ। अहिले यसमा थप अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘यसलाई अर्को प्रमाणको रूपमा पनि लिन सकिन्छ। किन लगियो भन्ने कुराहरू बुझ्दैछौं।’

फोन बरामद भएपछि भाइलाई पनि सोधपुछका लागि गएराति प्रहरी कार्यालयमा ल्याइएको उनले बताए। यद्यपि पक्राउ गरिनसकेको उनले बताए।

साथै घटना हुँदा उनी पनि पछि–पछि भएको खुलेको छ। यस बारेमा पनि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

बुहारी रञ्जनाको मोबाइल फोन घटना भएको बिहानैदेखि हराएको थियो। बिहानदेखि नै स्विच अफ भएपछि प्रहरीले फोनको खोजी गरिरहेको थियो।

प्रहरीले फोन फालिन सक्ने सम्भावित ठाउँहरूमा पनि खोजेको थियो। तर फेला परेको थिएन।