शिक्षक सरुवामा चलखेल

प्रधानाध्यापकले नै गरे किर्ते हस्ताक्षर ! तृतीय शिक्षक सरूवामा अनुमति

व्यवस्थापन समितिको अध्यक्षसहित ७ जनाको किर्ते हस्ताक्षर गरि रिक्त रहेको शिक्षकमा प्रअ सिंहले दुई जना शिक्षकलाई सरूवाको अनुमति दिए

विराटनगर । मोरङको जहदा गाउँपालिका–४ स्थित सार्वजानिक माविका प्रधानध्यापक अजयकुमार सिंहले किर्ते हस्ताक्षर गरेर रिक्त रहेको प्रावि तृतीय शिक्षक सरूवामा अनुमति दिएको पाइएको छ । विद्यालय व्यवस्थापन समितिको अध्यक्षसहित ७ जना सदस्यहरूको किर्ते हस्ताक्षर गरि रिक्त रहेको शिक्षकमा प्रअ सिंहले दुई जना शिक्षकलाई सरूवाको अनुमति दिएको हो ।

सार्वजनिक माविमा रिक्त रहेको प्रावि तृतीय शिक्षक सरूवा गरेर अनुमति दिँदा विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहितको समितिका पदाधिकारीहरूले निर्णाय गरिनुपर्ने हुन्छ । तर, प्रअ सिंहले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विशेश्वर मुखिया, सदस्यहरू बालकृष्ण राजभर, बलराम मण्डल, सर्मिलादेवी मण्डल, उषादेवी गनगाइ र उर्मिला त्रिताललको हस्ताक्षर किर्ते गरि सरूवाको अनुमति दिएको आरोप लागेको छ ।

सिंहले रिक्त रहेको ठाउँमा ताप्लेजुङको अठराइ त्रिवेणी गाउँपालिका–४ मा रहेको सरस्वती आधारभूत विद्यालयका प्रावि तृतीयका शिक्षक कल्पना कुमारी यदाव र उदयपुरको बेलका नगरपालिका ८ मा रहेको जागीरामथानी आधारभूत विद्यालयका शिक्षक पवन मण्डललाई सरूवा अनुमित दिएको पत्र फेला परेको जहदा गाउँपालिकाका अध्यक्ष कैलाश प्रसाद मण्डलले जानकारी दिए ।

सरूवा भएर आउने मण्डल भदौ २ गते र यादव भदौ ३ गते सरूवा अनुमित पत्र लिएर आएका थिए । व्यवस्थापन समितिका अध्यक्षसहितका पदाधिकारीहरूको किर्ते हस्ताक्षर गरेर सिंहले आफू अनुकुलको शिक्षक झिकाएर सरूवा अनुमतिको पत्र गाउँपालिकामा बुझाएका थिए । प्रअ सिंहले दुई जना शिक्षकलाई व्यवस्थापन समितिको किर्ते हस्ताक्षर गरि सरूवता अनुमति पत्र दिएको पत्तो पाएपछि आवश्यक छानविन गरि समितिको किर्ते हस्ताक्षर गर्ने प्रअलाई कारवाहीको माग राख्दै भदौ १० गते जहदा गाउँपालिकामा उजुरी दिएका थिए ।

व्यवस्थापन समितिले उजुरी गाउँपालिकामा दिएपछि अध्यक्ष कैशालप्रसाद मण्डलले सार्वजनिक माविको प्रअदेखि संहलाई हटाएर सोही विद्यालयका शिक्षिका लत्ता मण्डललाई प्रअको जिम्मेवारी दिएका छन् । ‘व्यवस्थापन समितिदेखि किर्ते हस्ताक्षर गरेर शिक्षक सरूवाको अनुमिति दिएको पाइएपछि हामीले सार्वजानिक मावि स्कुलको प्रअको जिम्मेवारी हेरफेर गरेका हौं,’ उनले भने, ‘अहिले अनुसन्धानको क्रममा रहेकोले सिंहलाई हटाएर हामीले मण्डललाई प्रअ जिम्मेवारी दिएका छौं ।’ अहिले व्यवस्थापन समितिले दिएको उजुरी माथि पनि अनुसन्धान सुरु गरिएको उनले बताए । किर्ते हस्ताक्षर गरेको ठहर भए थप कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय मोरङमा पठाउने उनले बताए ।

यता शिक्षक अजयकुमार सिंहले गाउँपालिका अध्यक्षले कानुनविपरीत आफूलाई प्रअबाट हटाएकोले कानुनी उपचार खोज्ने बताएका छन् । ‘आन्तरिक राजनैतिक द्वन्द्वको कारणले गाउँपालिका अध्यक्षले मैलाई फसाउन खोजिएको हो । नियमावलीविपरीत मलाई प्रअदेखि हटाएको छ । यसरी नियामवली विपरीत पदबाट हटाएपछि आफू कानूनी उपचार खोज्नेछु,’ उनले भने, ‘एक पटक पनि नसोधी एकलौटी तरिकाले गाउँपालिकामा अध्यक्षले अधिकार प्रयोग गरि हटाएको हो । यो प्रक्रिया सरासर गलत हो ।’

मङ्गलबार, २९ भदौ, २०७८, साँझको ०५:३५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर