श्रीमानलाई नन्दकुमारीले दिइन् मृगौला, नोवेल अस्पतालमा सफल प्रत्यारोपण

संघीय राजधानी काठमाडौंमा मात्र मृगौला प्रत्यारोपण सेवा उपलब्ध छ । पूर्वी नेपालमा पहिलो पटक नोबेलले यो सेवा सुरु गरेको हो

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले प्रदेश १ मै पहिलो पटक मृगौला प्रत्यारोपण सेवा सुरु गरेको छ । श्रीमतीको मृगौला श्रीमानको शरिरमा सफलतापूर्वक प्रत्यारोपण गरेर नोबेलले यो सेवा सुरु गरेको हो ।

सुनसरीको धरान–६ का ३३ वर्षीय टेकनाथ भुर्तेलको शरिरमा उनकी श्रीमती ३३ वर्षीया नन्दकुमारीको मृगौला सफलतापूर्वक प्रत्यारोपण गरिएको नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्माले जानकारी दिए । ‘नोबेलमा सफलतापूर्वक मृगौला प्रत्यारोपण गरिएको छ,’ डा.शर्माले भने, ‘प्रदेश १ मै पहिलो पटक नोबेलले मृगौला प्रत्यारोपण थालेको हो । अब, नियमित रुपमा मृगौला प्रत्यारोपण सेवा सञ्चालन गर्छौं ।’ अहिले संघीय राजधानीमा मात्र मृगौला प्रत्यारोपण सेवा उपलब्ध छ । पूर्वी नेपालमा पहिलो पटक नोबेलमा यो सेवा सुरु भएको हो ।

नोबेलका मृगौला रोग विशेषज्ञ तथा मृगौला प्रत्यारोपण फिजिसियन डा.शैलेन्द्र श्रेष्ठ र यूरोलोजिष्ट तथा मृगौला प्रत्यारोपण शल्य चिकित्सक डा.रामसागर शाहको नेतृत्वमा यो सेवा सुरु गरिएको हो । नोबेलका मृगौला प्रत्यारोपण शल्यचिकित्सक डा. शाहसहितको टिमले गत शनिवार भुर्तेलको शरिरमा सफलतापूर्वक गरेको हो । मृगौला प्रत्यारोपणका लागि सहिद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रका निर्देशक प्रा.डा.प्रेम ज्ञवाली, डा.दिपेश श्रेष्ठ, एनएसथियोलोजिष्ट अर्चन अधिकारीसहितको टिमले सहयोग गरेको थियो ।

ल्याप्रोस्कोपिक विधिबाट श्रीमतीको बायाँ मृगौला निकालेर श्रीमानको पेट चिरेर दायाँतर्फ राखिएको डा.शाहले जानकारी दिए । ‘मृगौला प्रत्यारोपण थालेको पहिलो पटक नै नेपालका कुनैपनि अस्पतालले ल्याप्रोस्कोपिक विधिबाट मृगौला निकालेर प्रत्यारोपण गरेका छैनन्, हामीले पहिलो पटक नै ल्याप्रोस्कोपिक विधि प्रयोग गर्यौं,’ उनले भने ।

दुई वर्ष अघिदेखि दुवै मृगौला ‘फेल’ भएपछि टेकनाथ नियमित डाइलाइसिस गराउँदै आएका थिए । मृगौला प्रत्यारोपणपछि अहिले श्रीमान–श्रीमती दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको मृगौला प्रत्यारोपण फिजिसियन डा.श्रेष्ठ बताउँछन् । उनी भन्छन्, ‘मृगौला प्रत्यारोपण सफल भएपछि उहाँले डाइलाइसिस गरिरहनु पर्दैन, सामान्य दैनिकीमा फर्कनुहुन्छ । औषधि भने खाइरहनुपर्छ ।’

नोबेल अस्पतालका निर्देशक डा.राजेश नेपालका अनुसार मृगौला प्रत्यारोपण सेवा सञ्चालनका लागि अनुमति माग गर्दै नोबेलले २०७६ भदौ महिनामा दरखास्त दिएको थियो । स्वास्थ्य सेवा विभागको अङ्ग प्रत्यारोपण समन्वय समितिको गत साउन १ गतेको निर्णय बमोजिम नोबेललाई मृगौला प्रत्यारोपणका लागि अनुमति दिइएको हो । दुवै मृगौला पूर्ण रुपमा ‘फेल’ भएका विरामीहरुलाई मृगौला प्रत्यारोपण गर्ने गरिन्छ । नोबेलले यो सेवा सुरु गरेपछि पूर्वी नेपालका मृगौला विग्रिएका विरामीहरुलाई सहज भएको छ ।

मङ्गलबार, २९ भदौ, २०७८, दिउँसोको १२:३० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर