संखुवासभा सामूहिक हत्याकाण्डको नालीबेली

सामूहिक हत्याको घटनाको अनुसन्धानमा डीआईजी अरुणकुमार बिसीसहित ४९ जना प्रहरी परिचालन भएका थिए

विराटनगर । संखुवासभाको मादी–१ उम्लिङ खोलागाउँका ५५ वर्षीय तेजबहादुर कार्कीसहित परिवारका ६ जनाको सामूहिक हत्या आरोपमा पक्राउ परेका अभियुक्तलाई प्रहरीले सार्वजानिक गरेको छ ।

प्रहरीले सामूहिक हत्या आरोपमा पक्राउ परेका मादी नगरपालिका–१ का २५ वर्षीय लोकबहादुर कार्कीलाई आइतबार चैनपुरमा पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो ।

मृतक तेजबहादुर र लोकबहादुर नाताले काका भतिज हुन् । प्रहरीले कार्कीलाई शनिबार पक्राउ गरिएको थियो । सोमबार बिहान करिब १० बजे प्रहरीले ८४ वर्षीय पार्वती कार्की, उनका छोरा ५२ वर्षीय छोरा तेजबहादुर कार्की, तेजबहादुरकी श्रीमती ५२ वर्षकै कमला कार्की, ३२ वर्षीय रञ्जना कार्की, ८ वर्षीय विपिन कार्की र पाँच वर्षकी गोमा कार्कीको हत्या गरिएको अवस्थामा शव फेला पारेको थियो ।

तेजबहादुरले पटक–पटक पागल भन्दै केही काम गर्न नसकेको भन्दै हेपेको कारणले लोकबहादुरले हत्या गरेको प्रारम्भीक चरणको अनुसन्धानदेखि खुलेको १ नंं. प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी अरुणकुमार बिसीले जानकारी दिए । अभियुक्त कार्कीले योजनाबद्ध रूपमा घटना नभएर आवेगमा आएर तत्काल भएको प्रदेश प्रहरी प्रमुख डिआइजी बिसीले जानकारी दिए । अभियुक्तले घटना गराएको स्वीकार पनि गरेको उनले बताए ।

डीआईजी बिसीले आइतबार पत्रकार सम्मेलनमा अभियुक्त सार्वजनिक गर्दै ‘व्यक्तिगत रिसइवी’का कारण हत्या भएको बताए । अभियुक्त लोकबहादुरका बुवा शारिरिक रुपमा अशक्त छन् । तेजबहादुरलाई लोकबहादुरका हजुरबुवाले आफू मरेर गएपछि परिवारको हेरचाह र अभिभावकत्व गरिदिन आग्रह गरेका थिए । त्यही आग्रह बमोजिम तेजबहादुर लोकबहादुरको घरमा नियमित रुपमा जान्थे । लोकबहादुरको परिवार आर्थिक हिसाबमा तेजबहादुरको तुलानामा कमजोर छ । तेजबहादुर लोकबहादुर र उनका भाइलाई सम्झाउने र भविष्य राम्रो बनाउन सल्लाह दिन्थे । कहिले काँही गाली पनि गर्थे । त्यही विषयलाई लोकबहादुरले व्यक्तिगत कुण्ठा र रिसिइबी बनाएपछि घटना भएको प्रहरीले जनाएको छ ।

एउटै चिर्पटले यसरी गरे पाँच जनाको हत्या

हत्या आरोपी लोकबहादुर पाँच वर्ष अगाडि वैदेशिक रोजगारबाट फिर्किका थिए । उनी रोजगारीको शिलसिलामा २ पटक कतार र सन् २०१६ मा १ पटक मलेसियामा काम गरेर फर्किएपछि स्वास्थ्यमा समस्या आएको कारणले काम नगरी घरमा बस्दै आएका थिए । उनी वेला–वेला आक्रोशित हुने र जे पायो त्यहिले आक्रमण गर्ने, राति नसुती एक्लै हिंड्ने र घरमा आफ्ना वुवा र कान्छा भाईसँग पनि झैझगडा गर्दै आएको प्रहरीले जनाएको छ ।

‘आफन्त रहेकोले लोकबहादुरको घरमा तेजबहादुर बेला बेलामा सम्झाउने अह्राउने र काम नगर्दा किन काम नगरेको, तँ पागल अल्छि, काम पनि गर्दैनस् भन्दै लोकबहादुरलाई भन्ने गरेका थिए । जुन कुरा लोकबहादुरले गम्भीर रूपमा लिएका थिए । पटक–पटक विदेश जाँदा पनि कमाउन नसकेको, विदेश जाँदाको ऋण र आमाको उपचार र किरिया खर्चसमेत भएको जग्गा बेचेर तिरेको कुराले लोकबहादुरलाई हिनतावोध गराएको रहेछ,’ डिआइजी बिसीले पत्रकार सम्मेलनमा भने, ‘त्यही रिसको आवेगमा आएर हत्या गरेको देखिन्छ ।’

हत्या हुनुअगाडि अभियुक्तको घरमा थिए तेजबहादुर

६ जनाको सामूहिक हत्या भएको दिन मादी–३ पिप्लेमा तेजबहादुरको खेतमा काम गर्ने दिन थियो । खेताला लाग्नेमा अभियुक्त लोकबहादुर र उनका कान्छा भाइ नरेश कार्कीसमेत जाने भएका थिए । ‘बोलाउन तेजबहादुर अभियुक्तको घरमा आएका थिए । त्यसबेला बिहानको समय थियो । लोकबहादुरको भाई गाईलाई खोले पकाई, वुवा र भाई चिया खाएर घाँस काट्न गएका थिए । अभियुक्त लोकबहादुर घरमा एक्लै थिए । खेतला कन्फर्म गरी फर्कने क्रममा रातभरको अनिँदो र विक्षिप्त अवस्थामा रहेका थिए । त्यसपछि आफूलाई पटक–पटक पागल र काम गर्न नसक्ने भनेको सम्झि रिसको झोंकमा घरमा रहेको दाउराको घारबाट चिर्पट निकाली पछ्याउँदै बारीको डिलमा रहेको गोगनको बोटनजिक चिर्पटले पछाडिबाट टाउकोमा पटक–पटक प्रहार गर्दा तेजबहादुर ढलेर अनियन्त्रित भए । उनी भिरालो जमिनवाट लडि बाटोमा पुगि धर्मराउँदै ‘लोकेले मलाई मार्यो’ भन्दै उठ्न खोज्दा पुनः टाउकोमा प्रहार गरि घोप्टो पारी लडाएर मारेको बयानको क्रममा भनेका छन् ।’

तेजबहादुरले हारगुहार गरेको आवाज सुनेपछि कमला र बुहारी रञ्जनासमेत घटनातर्फ आएको थाहा पाएपछि त्यही चिर्पटले हत्या गरेको बयानको क्रममा स्वीकार गरेको डिआइजी बिसीले बताए । ‘लोकबहादुरले काका तेजबहादुरको हत्या गरेको काकी र भाउजुले देखेपछि दुवै जनालाई खोल्सिमा भेटी चिर्पटले २/३ पटक प्रहार गर्दा रन्थनिएर बाटोबाट खोल्सिमा खसेको र सोही क्रममा कमला माथि प्रहार गरेका थिए । रञ्जना बेहोस जस्तो भई भुइँमा ढलेर उठ्ने क्रममा उनलाई टाउकोमा पटक–पटक प्रहार गरी सासु लडेकोतर्फ हुत्याई दिएको बयानको क्रममा स्वीकार गरेका छन्,’ बिसीले भने ।

‘तेजबहादुरका नाती/नातिनीले घटना देखेपछि प्रमाण मेटाउन लोकबहादुरले उनीहरूलाई पनि खेदेर चिर्पट प्रहार गरेर बारीमा हत्या गरेको देखिन्छ,’ डीआईजी बिसीले भने । ५ जनाको हत्या गरेपछि लोकबहादुर तेजबहादुरको घरमा पुग्छन् । कुँडो नजिकै बसिरहेकी तेजबहादुरकी आमा पार्वतीलाई भित्तामा ठेलेर चिर्पटले प्रहार गरी उनको पनि हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । तेजबहादुरका बुवा कान नसुन्ने र आँखा त्यति नदेख्ने भएकाले उनलाई केही नगरी लोकबहादुर आफ्नो घर फर्किएको प्रहरी अनुसन्धानमा देखिएको छ ।

‘केही मिनेटको फरकमा पालैपालो हत्या गरेको देखिन्छ । बालियो मानिसलाई ढालेपछि कमजोरहरूलाई आक्रमण गरेको देखिन्छ,’ उनले भने, ‘घरको मूलीलाई नै आक्रमण गरेर ढालेपछि महिलाहरू आत्तिएर केहि गर्न नकसेपछि उनीहरुलाई हत्याराले सजिलै चिर्पटले हिर्काएको देखिन्छ ।’

प्रहरीलाई आरोपी लोकबहादुरले दिएको बयानमा तेजबहादुरले आफूलाई अल्छि, जाँगर नभएकोलगायत विभिन्न शब्द प्रयोग गर्ने, गाली गर्ने जस्ता कार्य गरेको भन्दै हत्या गरेको बयान दिएको उल्लेख छ, तेजबहादुरले लोकबहादुरलाई सम्झाउने क्रममा गर्ने गालीलाई कुण्ठाको रुपमा लिएपछि त्यही विषयलाई लिएर हत्या गरेको देखिन्छ,’ उनले भने ।

६ जनाको हत्या गरेपछि चिर्पट घरमा लगेर आगो बाले

६ जनाको हत्या गरेपछि हातमा भएको चिर्पटलाई लोकबहादुरले डेढ सय मिटरमा रहेको आफ्नो घरमा लगि डढाएको प्रहरी अनुसन्धानमा देखिएको डिआइजी बिसीले जानकारी दिए । ‘घरमा आएर हत्यामा प्रयोग गरेको चिर्पट घरको चुलोमा आगो बालेर सल्काएपछि लुगा फेरेर लोकबहादुर घरमाथि चढेको देखिएको छ,’ उनले भने ।

हत्या गरेपछि बिहान साढे ८ बजेतिर लोकबहादुरले आफ्नो भाइलाई ‘पर बडीबाको लाश छ’ भनेर सुनाएका थिए । हत्या भएको स्थान लोकबहादुरको घरबाट देखिँदैन । ‘घरमाथिबाट कसरी मृतकको शव देखियो भन्नेबारे हामीले अनुसन्धान गर्दै जाँदा अभियुक्त पत्ता लाग्यो,’ डीआईजी बीसीले भने,’ आफन्तको हत्या हुँदा लोकबहादुरमा कुनै समवेदना नदेखिपछि शङ्का गर्ने ठाउँ भयो । लोकबहादुरको कपडामा लागेको रगतको दाग भेटिएपछि पक्राउ गरेर अनुसन्धान थालेपछि हत्या गरेको स्वीकार्दै बयान दिएका छन् ।’

प्रहरीले मृतकहरुले प्रयोग गरेका मोबाइल विधि विज्ञान प्रयोगशालामा पठाएको छ । अभियुक्तले दिएको साबिति बयानको भिडियो, घटनास्थलमा पुगेर गरिएको कुराकानीको क्लिप, कपडामा लागेका रगतको दागलगायतका सामानहरुलाई प्रहरीले प्रमाणको रुपमा पेश गरेको छ । पोष्टमार्टम रिपोर्टमा टाउकोमा ब्लन्ट फोर्सहरु भएको देखिएको डीआईजी बीसीले बताए ।

अनुसन्धानमा डिआजीसहित ४९ जना प्रहरी

सामूहिक हत्याको घटनाको अनुसन्धानमा डीआईजी अरुणकुमार बिसीसहित ४९ जना प्रहरी परिचालन भएका थिए । संघीय प्रहरी इकाइ कार्यालय धरानका एसपी भीम दाहाल, केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएका डीएसपी रुगम कुँवर र संखुवासभाका डीएसपी लालध्वज सुवेदीसहितको ४९ जनाको टोलीले घटनामा संलग्न अभियुक्तलाई घटना घटाएको पाँच दिनपछि पक्राउ गर्न प्रहरी सफल भएको छ । पक्राउ परेका अभियुक्तलाई आइतबार कर्तब्य ज्यान मुद्दामा म्याद थप गरि अनुसन्धान सुरू गरेको छ ।

आइतबार, २७ भदौ, २०७८, साँझको ०७:१५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर