विराटनगर । संखुवासभा मादी नगरपालिका–१ उम्लिङमा एकै परिवारका ६ जनाको सामूहिक हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सामूहिक हत्या आरोपमा प्रहरीले मादी १ का उम्लिङका लोकबहादुर कार्कीलाई पक्राउ गरेको हो । पक्राउ परेका कार्की आफन्तनै रहेको प्रहरीले जनाएको छ ।
सामूहिक हत्या आरोपमा एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेकोे नं. प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी अरूणकुमार बिसीले जानकारी दिएका छन् । ‘सामूहिक हत्याको घटनामा एक जना नियन्त्रणमा लिएका छौं,’ डिआइजी बिसीले भने, ‘घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।’ हत्याको कारण थप अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ । घटना के कसरी र के कारणले भएको भन्नेबारे पनि प्रहरीले सार्वजनिक गर्ने उनले बताए । कार्कीलाई प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको बुुझिएको छ ।
गत सोमबार ५७ वर्षीय तेजबहादुर कार्की, उनकी ८४ वर्षीया आमा पार्वता, ५८ वर्षीया श्रीमती मनमाया, २५ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र ५ वर्षीया नातिनी गोमाको हत्या भएको थियो ।
मृतकको घर र लोकबहादुरको घर डेढ सय मिटरको दुरीमा छ । प्रहरीले पक्राउ परेका व्यक्तिबारे आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिने तयारी गरेको छ । ‘केही कुराहरूको पुष्ट्याइँ गरेर पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने छौं,’ डिआइजी बिसीले भने । प्रहरीका अनुसार कार्की केही समय पहिले वैदेशिक रोजगारीबाट फर्किएका थिए ।
परिवारका ६ जनाकै छुट्टाछुट्टै स्थानमा शव फेला परको थियो। उनीहरूको चार वटा ठाउँमा शव फेला परेको थियो । उनीहरूलाई पालैपालो टाउकोमा प्रहार गरेर हत्या गरिएको थियो । पोष्टमार्टमको प्रारम्भिक रिपोर्टमा उनीहरूको मृत्यु ‘ब्लन्ट फोर्स इन्जुरी’ले भएको खुलेको थियो।
पारिवारीक दुश्मनीका कारण घटना भएको प्रहरीले जनाएको छ । मृतकको घरमा रहेको धन सम्पत्ति सुरक्षित रहेको हुनाले आर्थिक कारण घटना नभएको निष्कर्ष प्रहरीको छ । घटना एकाबिहानै भएको पनि अनुसन्धानमा खुलेको छ । प्रहरीका अनुसार घटना साढे ५ देखि ६ बजेको बीचमा भएको देखिएको छ । कार्कीले सुरूमा तेजबहादुरलाई प्रहार गरेको र त्यसपछि क्रमशः पालैपालो अरूलाई प्रहार गरेको देखिएको प्रहरीले जनाएको छ ।

