लोड हुँदैछ...

मेनु

पैसा तिर्न दिन नसक्दा अस्पतालले शव दिएन, चन्दा संकलन गर्दै गाउँले

पैसा तिर्न दिन नसक्दा अस्पतालले शव दिएन, चन्दा संकलन गर्दै गाउँले

विराटनगर । उपचार गरेको शुल्क तिर्न नसकेपछि विराटनगरस्थित गोल्डेन अस्पतालले मोरङको एक जना वृद्धा महिलाको शव रोकेर राखेको छ ।

उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको मोरङको कानेपोखरी गाउँपालिका –१ होक्लाबारीकी ७० वर्षीय सानमाया मगरको शव अस्पतालले तोकेको पैसा बुझाउन नसक्दा शव लैजान नदिएको मृतकका आफन्तको गुनासो छ ।

गोल्डेनमा आठ दिन उपचार गरेको मगर परिवारले १ लाख ७८ हजार रुपैयाँमध्ये अस्पतालले १ लाख ५० हजार रुपैयाँ बुझाउनु भनेको छ । आर्थिक अवस्था नाजुक भएको मगर परिवारमा उपचार खर्च तिर्न नसक्दा वृद्ध महिलाको शव अस्पतालमै रहेकोले आफन्तले अन्तिम संस्कार गर्न पाएका छैनन् ।

अस्पतालले भनेजति पैसा तिर्न नसकेपछि गोल्डेन अस्पतालले वृद्ध महिलाको शव लैजान नदिएको मृतकका छिमेकी विनोद माझीले बताए । पेट दुख्ने समस्या भएपछि गत बुधबार मगरलाई गोल्डन अस्पताल ल्याएको थियो । उनलाई लिएर श्रीमान ८० वर्षीय बलबहादुर मगर आएका छन् । मृतक र उनका श्रीमान दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाउने गर्दथे ।

‘आर्थिक अवस्था नाजुक भएका वृद्धा दम्पती हुन् । उनीहरूसँग अस्पताल आउँदा प्रारम्भीक चरणमा १७ हजार रुपैयाँ बुझाएका रहेछन्,’ छिमेकी माझीले भने, ‘अहिले उहाँहरूसँग पैसा पनि छैन । हामीले चन्दा संकलन गरेर ७० –८० हजार रुपैयाँ जम्मा गरिम् । चन्दा संकलन गरेर १ लाख रुपैयाँ अस्पताललाई बुझाउने भन्दा पनि हस्पिटलले मानिरहेको छैन ।’

अस्पतालले १ लाख ५० हजार दिनुपर्ने अडान कायम गरेको उनले बताए । ‘वृद्धा महिलाको शव लैजान हामीले पनि चन्दा संकलन गरेका थियौं । उठेको जति पैसा दिएर अन्तिम ंसंस्कार गर्न शव लैजान्छौं भन्दा अहिले हस्पिटल शव लैजान दिइरहेको छैन,’ उनले भने । गोल्डेनले वृद्धा महिलाको शव बन्धक बनाएर राखेको उनको भनाइ छ ।

मृतकका श्रीमान बलबहादुर मगरले पैसा तिर्नसक्ने क्षमता आपूmहरुको नभएको र शव लैजान अस्पतालले नदिँदा श्रीमतीको अन्तिम संस्कार गर्न नपाएको गुनासो गरे । उनले गोल्डेन अस्पतालमा भौतारिँदै आफूसँग उपचारशुल्क तिर्नसक्ने अवस्था नभएकोले शव लैजान दिन गोल्डेन अस्पताल प्रशासनसँग हारगुहार गरिररहेका छन् ।

गोल्डेन अस्पतालका प्रशासकीय अधिकृत सन्तोष मेहताले २८ हजार भन्दा बढी छुट गरिसकेकोले यसभन्दा बढी छुट दिन सक्ने अवस्था नरहेको बताए । ‘हाम्रो पनि धेरै खर्च हुने गरेको छ,’ उनले भने, ‘विपन्न भएर हामीले दिनसक्ने छुट दिएका छौं । योभन्दा बढी छुट दिनसक्ने अवस्था छैन ।’

तस्बिर : गुगल

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds