विराटनगर । मोरङको बेलबारी नगरपालिका भित्रका केही होटलमा अवैध लागूऔषधको कारोबार हुने गरेको पाइएको छ । इलका प्रहरी कार्यालय बेलबारीले गाँजा कारोबारीसहित तीन जनालाई पक्राउ गरेपछि यस्तो रहस्य बाहिर आएको हो ।
इप्रका बेलबारीका प्रहरी निरीक्षक सरोज खनालको नेतृत्वमा खटिएको प्रहरी टोलीलले अवैध गाँजाको कारोबारी गर्ने बेलबारी १ का २३ वर्षिय सन्तोष राई, सोही ठाउँका ३२ वर्षिय ज्ञानबहादुर राई र धनकुटाका २६ वर्षिय महेश्वर राईलाई मंगलबार १९ केजी ६ सय ५० ग्राम गाँजासहित पक्राउ गरेको छ । पक्राउ परेका मध्ये मुख्य कारोबारी सन्तोष रहेको खुलेको छ । सन्तोष र ज्ञानबहादुर दाजुभाइ हुन् । दाजु ज्ञानबहादुरको बेलबारीमा ग्रिन कटेज नाम रहेको होटल रहेको छ । उक्त होटलमा गाँजाको गोप्य रूपमा कारोबार हुने गरेको प्रहरीको प्रराम्भिक चरणको अनुसन्धानदेखि खुलेको छ ।
भाइ सन्तोषले दाजु ज्ञानबहादुरालाई गाँजा दिने र कुलतमा लागेकाहरूलाई बिक्री वितरण गर्ने गरेको प्रहरीले जनाएको छ । सन्तोषले माग अनुसार पूर्वी सहरमा मात्र नभएर भारतसम्म गाँजा सप्लाइ गर्ने गरेको बुझिएको छ । पक्राउ परेका मध्ये महेश्वरले सन्तोषले मगाएको गाँजा ल्याइदिने गरेको कारणले प्रहरीले उनलाई पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ । ‘जतिपनि पूर्वी सहरमा गाँजाको माग हुन्छ । सन्तोषले राम्रो पैसाँ लिएर पु¥याउने गरेको खुलेको छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने ।
प्रहरीका अनुसार महेश्वरले प्रतिकेजी १० हजारमा धनकुटादेखि खरिद गरेको गाँजा सन्तोषले तराइमा ल्याएपछि २० देखि २५ हजार केजीसम्म बिक्री गर्ने गरेका छन् । सन्तोषले ठूलो परिमाणमा खरिद गर्नेलाई बिक्री गर्दै आएका थिए भने दाजु ज्ञानबहादुरले खुद्रामा होटलमार्फत प्रयोगकर्ताहरूलाई गाँजा बिक्री गर्दै आएका थिए । प्रयोगकर्ताहरुलाई ज्ञानबहादुरले ग्रामको प्याकेट बनाएर बिक्री गर्दै आएको प्रहरीले जनाएको छ । उनले होटलदेखि १ सय ग्रामदेखि २ सय ग्रामसम्मको प्याकेट बनाउने गरेका थिए । उनले प्रयोगकर्ताहरुलाई प्रतिग्राम २ सय देखि ३ तीन सय रुपैयाँसम्म बिक्री गर्दै आएको सुरक्षास्रोतले जानकारी दिएको छ । प्रहरीले पक्राउ परेका तीनै जनालाई बुधबार मोरङ अदालतमा लागूऔषध मुद्दामा म्याद थप गर्न ल्याएको छ ।

