न्यायाधीशको गाडीले ठक्कर दिँदा मृत्यु प्रकरण : पिएसओले गाडी सिक्दा दुर्घटना !

सिंहले कार सिक्ने प्रयास गर्दै थिए । उनको सवारी चालक अनुमति पत्रसमेत छैन ।

विराटनगर । विराटनगरस्थित मोरङ जिल्ला अदालत परिसरभित्रै आज दिउँसो साढे ४ बजेतिर भएको कार दुर्घटनामा परी घाइते भएकी महिलाको मृत्यु भयो ।

मोरङ जिल्ला अदालत ५ नम्बर इजलाशका न्यायाधीश इश्वर पराजुलीले प्रयोग गर्ने बा १४ च ६०१६ नम्बरको कारले ठक्कर दिँदा महिला घाइते भएकी छिन् । कार चालक न्यायाधीश पराजुलीकै अंगरक्षक (पिएसओ) बिन्दकुमार सिंह रहेको यसअघि नै मोरङ प्रहरीका प्रमुख प्रहरी उपरीक्षक जनार्दन जिसीले बताइसकेका छन् ।

स्रोतका अनुसार कार चालक भनिएका पिएसओ सिंहले कार सिक्ने क्रममा दुर्घटना भएको थियो । न्यायाधीश पराजुलीसँग कारको चाबी मागेर आएका पिएसओ सिंहले कार स्टार्ट गर्नेवित्तिकै हुइँकिएर जाँदा महिलालाई ठक्कर दिएको थियो । ‘कारमा चावी लिएर गएका सिंहले स्टार्ट गर्नेवित्तिकै कार हुइँकिएको थियो,’ प्रत्यक्षदर्शीले भने, ‘मेरो विचारमा कार गियरमा थियो ।’

दाहाल दम्पत्ती अदालत परिसरमा क्यान्टिन चलाउँछन् । उनीहरु अदालत बन्द हुने समय नजिकिएसँगै घरका लागि सामानको थान्को लगाउँदै थिए । तर, एक्कासी आएको कार क्यान्टिनमा छिर्यो र दाहाललाई ठक्कर दिएको थियो ।

घटनालगत्तै घाइते भएकी ४५ वर्षकी लक्ष्मी दाहाललाई कोशी अस्पताल उपचारका लागि लगियो । तर, घटनाभएका १ घण्टा वित्न नपाउँदै उनको मृत्यु भयो । स्रोतका अनुसार सिंहले कार सिक्ने प्रयास गर्दै थिए । उनको सवारी चालक अनुमति पत्रसमेत नभएको बताइएको छ ।

मृत्यु भएकी दाहाल अदालतभित्रको क्यान्टिन संचालक रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले जानकारी दिए । सिंहलाई भने प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

मङ्गलबार, २२ भदौ, २०७८, रातीको ०८:३६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर