मोरङ बेलबारीमा बन्दुक कारखाना : ३५ हजारदेखि लाखसम्ममा बिक्री, गिरोह पक्राउ

विराटनगर । मोरङको बेलबारीमा अवैध हातहतियार बनाउने कारखाना प्रहरीले फेला पारेको छ । बेलबारी नगरपालिका–१ स्थित ५२ वर्षीय आशबहादुर लिम्बूले आफ्नै घरमा कारखाना सञ्चालन गर्दै भरुवा बन्दुक बनाएर बेचबिखन गर्दै आएको खुलेको हो ।

इलाका प्रहरी कार्यालय बेलबारीले लिम्बूको घरमा छापा मार्दै बन्दुक, बन्दुक बनाउन प्रयोग गरिने सामग्री, विष्फोटक पदार्थ र वन्यजन्तु हरिणको अंगसहित लिम्बूलाई आइतबार साँझ पक्राउ गरेपछि यस्तो रहस्य बाहिर आएको छ । पक्राउ परेका लिम्बूले घरमै अवैध रुपमा हातहतियार बनाएर विक्री वितरण गर्ने गरेको प्रारम्भीक चरणको अनुसन्धानदेखि खुलेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

पक्राउ परेका लिम्बूले भरुवा बन्दुक बनाउने गरेको खुलेको छ । उनले जंगलमा गएर शिकार गर्नेलाई भरुवा बन्दुक बनाउँदै बिक्री वितरण गर्ने गरेको खुलेको छ । मोरङको बेलबारी, केराबारी, पथरी, लेटाङ, बेलबारीलगायत राजमार्ग क्षेत्रमा शिकार खेल्ने अधिक हुने गर्दछन् । उनीहरूले महेन्द्र राजमार्गसँग जोडिएको उत्तरी क्षेत्रमा शिकार खेल्न जाने गर्दछन् । पक्राउ परेका लिम्बूले शिकार खेल्न जाने शिकारीलाई भरुवा बन्दुक बनाउँदै बिक्री वितरण गर्ने गरेको अनुसन्धानमा संलग्न प्रहरीले बताएको छ । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार लिम्बूले ३५ हजारभन्दा माथिमा भरुवा बन्दुक बनाएर बिक्री गर्दै आएका थिए ।

उनले शिकारीले अवस्था हेरेर १ लाख रुपैयाँसम्ममा बन्दुक बिक्री गरेको प्रहरीले स्रोतले जानकारी दिएको छ । ‘पक्राउ परेको लिम्बूले नजिकैको वनमा गएर काठ दाउरा ल्याउने र घरमै भरुवा बन्दुक बनाउने गरेको पाइएको छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने, ‘घरमा बनाएको बन्दुक शिकारीहरू र अपराधिक क्रियाकलापमा संलग्न व्यक्तिलाई पनि विक्री वितरण गरेको पाइएको छ ।’

लिम्बूले एउटा भरुवा बन्दुक बनाउन एक हप्तादेखि दुई सातासम्म समय लिएर बनाएर बिक्री गर्ने गरेको प्रहरीले जनाएको छ । ‘अडर आएपछि भरुवा बन्दुक बनाउने गरेको पाइयो,’ डिएसपी श्रेष्ठले भने, ‘अडर लिएर बन्दुक बनाउने क्रममा प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।’ अहिलेसम्म कति वटा भरुवा बन्दुक बनाएर बिक्री वितरण गरिसके त्यो थप अनुसन्धानपछि खुल्ने उनले बताए । अहिले घटनाको विषयमा थप अनुसन्धान भइरहेको डिएसपी श्रेष्ठले बताए ।

प्रहरीले लोड गरिएको भरुवा बन्दुक, बन्दुक बनाउन प्रयोग गरिने ४ वटा काठ, पड्किने फलामको पासो, १ किलो बारुद, बन्दुक सफा गर्ने रड, ३ वटा काँजो, बसिला, राँबो, हथौडा, आरालगायत बन्दुक बनाउन प्रयोग गरिने विभिन्न औजार बरामद भएको छ । पक्राउ परेका लिम्बूको घरबाट हरिणका ५ वटा सिङ पनि बरामद गरिएको उनले बताए ।

घरमै कारखाना चलाउँदै बन्दुक बनाएर बिक्री गर्ने गरेको सूचनाका आधारमा प्रहरीले लिम्बूको घरमा छापा मारेको श्रेष्ठको भनाइ छ । उनका अनुसार लिम्बू आफैंले बन्दुक बनाउने र वन्यजन्तुको चोरी शिकारी गर्ने समूहलाई बेच्ने गरेको पाइएको छ । त्यस्तै उनी वन्यजन्तुको तस्करी एवं अंगको अवैध ओसारपसार र कारोबारमा पनि संलग्न रहेको प्रहरीले जनाएको छ ।

जङ्गली जनावरको चोरी शिकारी गर्ने समूहसँग सम्पर्क बढाउँदै लिम्बूले वन्यजन्तुका अंगको पनि अवैध कारोबार गर्ने गरेको प्रहरीको दाबी छ । हरिणको सिङ घरबाट बरामद भएपछि वन्यजन्तुका अंग तस्करी एवम् कारोबारमा उनको संलग्नता पुष्टि भएको जानकारी डीएसपी श्रेष्ठले दिए ।

प्रहरीले लिम्बूविरुद्ध हातहतियार खरखजना तथा विष्फोटक पदार्थ ऐनअन्तर्गत मुद्दा चलाउन म्याद थप गरेर घटनाको अनुसन्धान अघि बढाउने भएको छ । त्यस्तै वन्यजन्तुका अंगको कारोबारका विषयमा पनि अनुसन्धान हुने प्रहरीले जनाएको छ ।

मङ्गलबार, २२ भदौ, २०७८, दिउँसोको ०४:३२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर