विराटनगर । गाँजासहित पक्राउ परेका युवा भीम कामत प्रहरी हिरासतमै मृत्यु भएको विषयलाई लिएर उनका आफन्तले गरेको चक्काजाममा प्रहरीसँग झडप भएको छ ।

विराटनगरस्थित भट्टीमोडमा सडक अवरुद्ध गर्न बसेका उनीहरुलाई हटाउन खोज्दा प्रहरीसँग झडप भएको हो । प्रहरीमाथि स्थानीयले ढुंगामुढा गरेका छन् ।

शुक्रबार दिउँसो विराटनगर ११ देखि गाँजासहित पक्राउ परेका ३७ वर्षीय भीम कामतको आइतबार मृत्यु भएको थियो । कामतको मृत्यु भएको घटनालाई लिएर मृतकका आफन्तले रहस्मय तरिकाले मृत्यु भएको भन्दै उच्च स्तरीय छानविन समिति गठन गरिनुपर्ने, दोषि प्रहरीलाई कारवाही र मृतकका परीवारलाई क्षतिपूर्ती दिनुपर्ने माग गरेका छन् । कामतको मृत्यु भएको विषयमा छानविन गर्न सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सोमबार पाँच सदस्य छानविन समिति गठन भएको थियो ।