लोड हुँदैछ...

मेनु

संखुवासभा हत्या प्रकरणः पिकु र लैलासहितको टोली घटनास्थलमा

संखुवासभा हत्या प्रकरणः पिकु र लैलासहितको टोली घटनास्थलमा

विराटनगर । संखुवासभाको मादीमा एकै परिवारका ६ जनाको हत्या भएको घटनाको अनुसन्धानको लागि प्रहरी उपरीक्षक भीम दाहाल नेतृत्वको तालिमप्राप्त कुकुरसहितको टोली घटनास्थलमा पुगेको छ ।

संघीय प्रहरी इकाइ कार्यालय धरानबाट प्रहरी उपरीक्षक भीम दाहालको नेतृत्वको टोली सोमबार राति घटनास्थल पुगेर मंगलबार बिहानबाट अनुसन्धान थालेको छ ।

अनुसन्धान टोलीमा ट्रयाकर डग पिकु र लैलालाई लगिएको छ । सोमबार राति पानी परेका कारण मंगलबार बिहानबाट कुकुरसहितको टोलीले अनुसन्धान सुरु गरेको एसपी दाहालले बताए ।

सोमबार बिहान एकै परिवारका ६ जनाको शव भेटिएपछि चैनपुरबाट पुगेको प्रहरीले घटनास्थल सिल गरेको थियो । घटनाको अनुसन्धानको लागि तालिमप्राप्त कुकुर लगिएको भएपनि पानी परेका कारण समस्या भएको छ । ‘पानी पर्दा ट्रयाकर डगको प्रभावकारिता कम हुनसक्छ,’ एसपी दाहालले भने, ‘तर, हामी कुकुरसहित अनुसन्धानमा जुटेका छौं ।’

सोमबार बिहान मादी नगरपालिका १ उमलिङका बौद्धमान कार्कीको परिवारका ६ जनाको हत्या भएको थियो । आँखा कम देख्ने र काम कम सुन्ने ९३ वर्षीय बौद्धमान सकुशल छन् ।

बृद्धकी श्रीमति ८४ वर्षीया पार्वती कार्की, छोरा ५२ वर्षीय तेजबहादुर कार्की, बुहारी ५२ वर्षीया कमला कार्की, नातिनी बुहारी ३२ वर्षीया रञ्जना कार्की, पनाति ११ वर्षीय दिपेन कार्की र पनातिनी ७ वर्षीया गोमा कार्कीको हत्या भएको हो । पार्वतीको शव घरभित्र ओछ्यानमा सुतेकै अवस्थामा भेटिएको थियो भने तेजबहादुरको शव घरदेखि बाहिर सडकमा घोप्टो परेको अवस्थामा छ । ज्याकेट र गम्बुट लगाएका उनको भाग्दा भाग्दै हत्या गरेको जस्तो देखिन्छ ।

रञ्जना र कमलाको शव घरनजिकैको खोल्सामा तथा दिपेन र गोमाको शव घरदेखि खरबारीमा पाइएइको छ । पाँच जनाको भाग्दाभाग्दै र एक जना वृद्ध महिलाको सुतेकै अवस्थामा हत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।

एसपी दाहालले अनुसन्धान सकारात्मक दिशाउन्मुख रहेको बताएका छन् । टोलीले अहिले शवको मुचुल्का तयार गरिरहेको छ । शव उठाउने क्रम सुरू भएको जानकारी दिँदै उनले अनुसन्धान प्रगति उन्मुख रहेको दाबी गरे।

एकैपटक मारिएका कार्की परिवारको आर्थिक अवस्था सामान्य छ । उनीहरुका दुई छोराहरु नरेश मलेशियामा र रमेश दुबईमा छन् । खेतिकिसानी गर्ने कार्की परिवार ढुंगामाटोले बनेको एक तले घरमा बस्थे ।

घटनास्थल इलाका प्रहरी कार्यालय चैनपुरबाट ५५ किलोमिटर पश्चिममा छ । जसकारण प्रहरी तत्कालै पुग्न नसकेको हो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।