विराटनगर । पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका बरिष्ठ नेता झलनाथ खनालको निर्वाचन क्षेत्रका ५६ जना जनप्रतिनिधिले एकीकृत समाजवादी रोजेका छन् ।
उनीहरुले इलामस्थित निर्वाचन कार्यालयमा पुगेर समाजवादीको पक्षमा सनाखत गरेका हुन् । यसरी सनाखत गर्नेमा सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राई र माइजोगमाई गाउँपालिकाका अध्यक्ष जीतबहादुर राईसमेत रहेका छन् ।
सूर्योदय नगरपालिकामा एमालेबाट निर्वाचित एक जना वडाध्यक्ष र उपप्रमुख बाहेक ४३ जनाले समाजवादीमा रहने भएका छन् ।
यस्तै जिल्ला समन्वय समिति उपप्रमुख चित्रकला बराईली र जिल्ला समन्वय समिति सदस्य पूर्णबहादुर बस्नेतसहित १० वडा अध्यक्ष, ४ जना कार्यपलिका सदस्य र बाँकी सदस्य रहेका छन् ।
यस्तै देउमाई नगरपालिकाका एक जना वडा सदस्य हेम लिम्बू, इलाम नगरपालिका, माङसेबुङ गाउँपालिकाको सदस्यले समेत सनाखत गरेका छन् । इलामकै प्रदेश सांसद खिनु लङ्वा लिम्बूले एकीकृत समाजवादीमा रहने गरी हस्ताक्षर गरिसकेकी छन्।
२०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा इलामका १० स्थानीय तहमध्ये ७ वटामा प्रमुख र ९ वटामा उपप्रमुख पद नेकपा एमालेले जितेको थियो । त्यस्तै एमालेले ४७ वटामा वडाअध्यक्ष जितेको थियो ।
यसैबीच तत्कालिन एमाले समानान्तर कमिटीका अध्यक्ष भक्त केसीले सोही कमिटीलाई एकीकृत समाजवादीमा रुपान्तरण गरेर संगठन निर्माणमा लाग्ने बताएका छन् । पार्टीमा आन्तरिक कलह चुलिदैं गर्दा इलाममा केसीको अध्यक्षतामा ३ सय १ सदस्यीय एमालेको समानान्तर कमिटी गठन भएको थियो ।
एमाले विभाजन हुनुपुर्व माधव–झलनाथ समूहमा रहेका सन्दकपुर गाउँपालिकाका अध्यक्ष उदय राई भने पार्टी विभाजनपछि एमालेमै रहेका छन् । त्यस्तै इलाम नगरपालिका, माई नगरपालिका, चुलाचुली गाउँपालिका फाकफोकथुम गाउँपालिका र रोङ गाउँपालिकाबाट निर्वाचित सबै जनप्रतिनिधि एमालेमै रहेका छन् ।
इलाम पूर्व प्रधानमन्त्री एवम तत्कालिन एमालेका अध्यक्ष झलनाथ खनाल र पूर्व सभामुख सुवासचन्द्र नेम्बाङको जिल्ला हो । पार्टी विभाजनपछि झलनाथको क्षेत्रमा एकीकृत समाजवादीमा खुल्नेको संख्या बढ्दो छ । उता केपी ओली निकट नेम्बाङको क्षेत्रमा भने समाजवादीमा जानेहरुको संख्या नगन्य मात्र देखिएको छ ।