विराटनगर । गाँजासहित पक्राउ गरेर प्रहरीले हिरासतमा राखेका व्यक्तिको मृत्यु भएपछि परिवारजनले घटनालाई रहस्यमय भन्दै छानबिनको माग गरेका छन् ।
शुक्रबार विराटनगरको जनपथ टोलबाट साढे तीन केजी गाँजासहित पक्राउ परेका विराटनगर –११ का ३७ वर्षीय भीम कामतको आइतबार मृत्यु भएको थियो । हिरासतमा रहेकै बेला विरामी भएपछि उनलाई उपचारका लागि कोशी अस्पताल पुर्याइएको र उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
अस्पतालमै उनको मृत्यु भएको खबर पाएपछि अहिले कोशी अस्पताल परिसरमा विरोधमा उत्रिएका कामतका परिवारजनले घटनाको छानबिनको माग गरेका हुन् । उनकी पत्नी यशोदा कामत र भाइ विरेन्द्र कामतले प्रहरी हिरासतमा रहेको व्यक्तिको ज्यान जाने घटना रहस्यमय भएको दाबी गरेका छन् । ‘त्यसैले घटनाको छानबिन हुनुपर्छ’ उनीहरुको माग छ ।
मृतक कामत पक्राउ परेयता जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा थिए । लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन आइतबार म्याद थपको तयारीमा प्रहरी थियो । प्रहरीले भने हिरासतबाट अदालत लैजानका लागि बाहिर निकाल्दा उनी ढलेका थिए । रिंगटा लाग्यो भन्दै ढलेका उनलाई अस्पतालमा पुर्याएको केहीबेरमा चिकित्सकले मृत घोषित गरेका थिए । प्रहरीका अनुसार उनको पोष्टमार्टमको तयारी भइरहेको छ ।

