विराटनगर । नेकपा (एमाले) मोरङ पार्टीमा भएको १० बुँदे सहमति अनुसार २०७५ जेठ २ को अवस्थामा फर्किएको छ ।
शनिबार विराटनगरमा बसेको पार्टीको सचिवालय बैठकले विनोद ढकाल अध्यक्ष रहेको समिति पुनःस्र्थापित गरेको हो । समितिको उपाध्यक्षमा रामलाल साह, सचिवमा ऋषिकेश पोखरेल छन् । यसअघि एमाले र माओवादी केन्द्रको एकतापछि पोखरेललाई अध्यक्ष बनाइएको थियो ।
नेकपा विभाजनपछि पनि पोखरेल नै अध्यक्षमा कायम थिए भने ढकाललाई प्रदेश १ को सचिव बनाइएको थियो । सचिवालय बैठकले १० बुँदे सहमतिलाई कार्यान्वयन गर्दै पार्टीलाई पुरानै अवस्थामा फर्काएको मोर्चा विभाग प्रमुख रुपेश खतिवडाले जानकारी दिए ।
सचिवालय बैठकले १० बुँदेलाई शनिबारबाटै पालिकाका वडास्तरसम्म कार्यान्वयनमा लैजाने निर्णयसमेत गरेको छ । पार्टीलाई मूलभूत रुपमा जेठ २ मा फर्काउने र त्यही अनुसारको कमिटी क्रियाशिल गरिने निर्णय भएको छ । केन्द्रको निर्णय जिल्ला कमिटीमा कार्यान्वयन गर्दै जिल्लाका सबै कमिटीमा कार्यान्वयन गरिसक्ने निर्णय भएको सचिब पोखरेलले जानकारी दिए । २०७५ जेष्ठ २ को जिल्ला कमिटिको बैठक भदौ ३१ गते बस्ने भएको छ । बैठकले जनप्रतिनिधि, पार्टी नेता तथा कार्यकर्तालाई विभाजनको पक्षमा नलाग्न र एकताबद्ध पार्टी निर्माणमा लाग्न आह्वानसमेत गरेको छ ।
सचिवालय बैठकले आगामी असोज मसान्तसम्म पार्टी सदस्यता नविकरण गरिसक्ने र कात्तिक ६ र ९ गते वडा र पालिका अधिवेशन गर्ने निर्णयसमेत गरेको छ । बैठकमा पार्टीका केन्द्रीय सचिव तथा प्रदेश १ का इन्चार्ज भीम आचार्य, पोलिटव्युरो सदस्यहरु लालबाबु पण्डित र भानुभक्त ढकाल, केन्द्रीय सदस्यहरु जीवन घिमिरे, गुरु बराल, शिवमाया तुम्वाहाम्फेलगायतको सहभागिता रहेको थियो ।