विराटनगर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शुद्धीकरणको माग गर्दै आन्दोलनरत स्वास्थ्यकर्मी, कर्मचारीले आइतबारदेखि इमरजेन्सी, कोभिड अस्पताल र पूर्वनिर्धारित परीक्षाबाहेकका सेवा बहिष्कार गर्ने घोषणा गरेका छन् ।
उनीहरुले स्वास्थ्य सेवा छाड्दा दैनिक रुपमा ३ हजार सर्वसाधारणले पाउने ओपिडी सेवा, २० जना हाराहारीमा हुने दैनिक शल्यक्रिया सेवालगायतका स्वास्थ्य सेवाबाट विरामी वञ्चित हुनेछन् ।
प्रतिष्ठान सुधारका लागि गरेको आन्दोलन ८२ दिन कट्दा पनि सरकारले आफूहरूको माग सम्बोधन नगरेको भन्दै काम बहिष्कार गर्ने निर्णय गरेको संघर्ष समितिका सहसंयोजक डा. विष्णु पोखरेलले जानकारी दिए ।
सरकारले पटकपटक उच्चस्तरीय समिति बनाउने, समितिले प्रतिष्ठानमा भ्रष्टाचार, अनियमितता भएको प्रतिवेदन सरकारलाई दिने तर सरकारी पक्षले कारबाही नगरेको भन्दै अर्को चरणको आन्दोलनमा होमिएको संघर्ष समितिको भनाइ छ ।
समितिका संयोजक डा. सूर्यप्रसाद रिमालले आन्दोलनमा उठाएको मुद्दाहरूलाई सरकारले लिपिबद्ध गर्दै सम्झौता गरे पनि कार्यान्वयनमा ढिलाइ गरेकाले आइतबारदेखि इमरजेन्सी, कोभिड अस्पतालको सेवा र पूर्वनिर्धारित परीक्षाबाहेक सबै सेवा छाड्ने बताए ।
उनले सरकारले कोभिड महामारीको बेलामा पनि स्वास्थ्य मन्त्री नियुक्ति नगरेको बताउँदै अबको आन्दोलन राजनीतिक दलका शीर्ष नेताहरूविरुद्ध पनि हुने उनले बताए ।
प्रतिष्ठानमा बेथिति बढेको, आर्थिक अनियमितता एवं भ्रष्टाचार बढेको भन्दै चिकित्सक, विद्यार्थी, कर्मचारीहरू विगत ८२ दिनदेखि आन्दोलनरत छन् । आन्दोलन चर्किंदै गएपछि सरकारले उच्चस्तरीय छानविन कार्यदल गठन गरेको थियो ।
कार्यदलले प्रतिवेदन बुझाएको एक महिना बित्न लागेको छ । प्रतिवेदनले चारै जना पदाधिकारीलाई कारबाही गर्न सिफारिस गरेको थियो । यस्तै, स्वास्थ्य मन्त्रालयले पनि आन्दोलनरत पक्षसँग छ बुँदे सहमति गर्दै पदाधिकारीहरूलाई पदमुक्त गर्ने भने पनि कार्यान्वयन भएको छैन ।
चिकित्सकले स्वास्थ्य सेवा छाडे दैनिक तीन हजार विरामी ओपिडी सेवाबाट वञ्चित हुनेछन् भने सरदर २० वटाको दरमा हुँदै आएको शल्यक्रिया सेवा पनि ठप्प हुनेछ ।