विराटनगर । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङ, महिला उद्यम समितिमा आवद्ध महिला उद्यमीहरूले शुभकामना आदान—प्रदान गर्दै तिज मनाएका छन् ।
महासंघ मोरङ महिला उद्यम समितिको आयोजनामा नेपाली हिन्दू महिलाको महान चाड हरितालिका तिजको अवसरमा शुभकामना आदान प्रदन गर्दै तिज मनाइएको हो ।
विराटनगरस्थित नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको सभाहलमा परम्परालाई जोगाई राख्ने उद्देश्यले तिज विशेष कार्यक्रमको आयोजना गरिएको नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङ, महिला उद्यम समितिका अध्यक्ष सुनिता छाराहाङले बताइन् ।
कार्यक्रममा महिला उद्यमीहरुले तिजको गीतमा रमाउँदै नाचगानसमेत गरेका थिए । सो अवसरमा विराटनगरस्थित तबसुम ब्यूटी पार्लरको सहकार्यमा कार्यक्रममा सहभागी महिलालाई मेहन्दीसमेत लगाइएको थियो ।
तिजको अवसर पारेर आयोजित कार्यक्रममा सहभागी सबै महिलालाई मेहन्दी लगाइएको तबसुम ब्यूटी पार्लरकी सञ्चालक तथा नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङकी सदस्य शायदा तबसुमले बताइन् ।
प्रदेश १ सामाजिक विकास मन्त्रालयकी महिला, बालबालिका तथा जेष्ठ नागरिक महाशाखा प्रमुख दुर्गा बरालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङका अध्यक्ष चेतन निरौला, वरिष्ठ उपाध्यक्ष गोपाल काफ्ले, नेपाल उद्योग वाणिज्य महासंघ महिला उद्यमी समिति प्रदेश १ की अध्यक्ष सरु केसी, उद्योग संगठन मोरङ महिला उद्यम समितिकी संयोजक प्रतिभा ओलीलगायतको सहभागीता रहेको थियो ।
कार्यक्रममा जिल्लाभरीबाट महिला उद्यमिहरूको बाक्लो उपस्थिति रहेको थियो । महासंघ महिला उद्यम समितिले प्रत्येक वर्ष तिजको अवसरमा शुभकामना आदान–प्रदान गर्दै आएको छ ।

