गाँजासहित विराटनगरका होटल संचालक कामत पक्राउ

 विराटनगर । विराटनगर–११ जनपथ टोलमा होटल संचालन गर्दै आएका एक जना गाँजासहित पक्राउ परेका छन् ।

प्रहरीले विराटनगर ११ जनपथटोलका ३९ वर्षीय भिम कामतलाई शुक्रबार दिउँसो पक्राउ गरेको हो । पक्राउ परेका कामत विराटनगर – ११ जनपथटोलस्थित स्कूल छेउमा होटल संचालन गर्दै आएका थिए ।

मोरङ प्रहरी र बखरी प्रहरीका इन्चार्ज प्रहरी सहायक निरीक्षक भुवन श्रेष्ठको प्रहरी टोलीले कामतको घरदेखि लुकाएर राखिएको करिब पाँच केजी गाँजा पनि बरामद गरेको मोरङ प्रहरीले जनाएको छ । प्रहरीले बरामद गरेको गाँजा पहाडी जिल्लादेखि ल्याएको खुलेको छ ।

‘होटल संचालकलाई गाँजासहित प्रहरीले पक्राउ गरेको हो,’ मोरङ प्रहरीका डिएसपी दिपक श्रेष्ठले भने, ‘अहिले थप अनुसन्धान भइरहेको छ ।’ पक्राउ परेका कामतले घरमा राखिएको गाँजा प्याकेट बनाएर बिक्री वितरण गर्ने गरेको खुलेको छ । प्रहरीको प्रारम्भीक चरणको अनुसन्धानदेखि कामतले १ सय देखि २ सय रूपैयाँसम्मको प्याकेट बनाएर गाँजा बिक्री गर्ने गरेका थिए ।

‘प्रहरीले लामो समयदेखि कामतको घर र पसलमा रेकी गरेको थियो । गाँजाको कारोबार हुने गरेको सूचना पाएपछि घरमा छापा मारेर गाँजा बरामद गरेको छ,’ एक प्रहरी अधिकृतले भने । उनी लागूऔषध प्रयोगकर्ता र गाँजाको पनि कारोबार गर्ने गरेको प्रहरीको प्रारम्भीक चरणको अनुसन्धानदेखि खुलेको मोरङ प्रहरीले जनाएको छ । पक्राउ परेका कामतलाई वडा प्रहरी कार्यालय विराटनगर ‘क’ को गाडीमा हालेर अहिले जिल्ला प्रहरी कार्यालय मोरङ पु¥याएको छ ।

शुक्रबार, १८ भदौ, २०७८, दिउँसोको ०१:५५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर