लोड हुँदैछ...

मेनु

एमालेले प्रदेश १ मा चलाएको हल्लाको अन्तर्य र फेसबुक कुटनीति

एमालेले प्रदेश १ मा चलाएको हल्लाको अन्तर्य र फेसबुक कुटनीति

विराटनगर । १० जना सांसद एमाले छाडेर एकीकृत समाजवादीमा जाने निश्चित भएपछि विराटनगरमा एकाएक हल्ला चल्यो ‘प्रदेशमा सोचे जसरी राजनीति अघि बढ्दैन । केही दिनमै व्यापक फरक दृश्य देखिनेवाला छ ।’

यो हल्लाको रचनागर्भ चाहिँ प्रदेश १ को सत्तारुढ दल एमालेका नेताहरु थिए । उनीहरुले दिन खोजेको सन्देश थियो केन्द्रमा जस्तोसुकै गठबन्धन बने पनि प्रदेश १ मा काँग्रेस र एमाले मिलेर नयाँ सरकार बन्छ, त्यसको पहल भइरहेको छ ।

समाजवादीमा जान तयार पारेका १० जना सांसद रोक्न सकिने अनुमानले एमाले नेताहरुले यसको रचना गरेका थिए । ‘सुरुमा मन्त्री पद उपहारमा दिएर, पार्टी, सूर्य चिन्हको लोभ र महत्व दर्शाएर सांसद फकाउन लागेका एमाले नेताहरुले के सम्म गरेनन् ?’, एकीकृत समाजवादीका नेताहरु बुधबार निर्वाचन कार्यालयमा भन्दैथिए, ‘अनेक हल्ला चलाएर रोक्न खोजे पनि सकेनन् ।’

निवर्तमान मन्त्री हिक्मत कार्कीले फेसबुकमै लेखेका थिए, ‘मुख्यमन्त्री भीमप्रसाद आचार्य नेतृत्वको सरकारलाई समर्थन गर्ने लगायतका विषयमा’ काँग्रेस नेता राजीव कोइरालासँग छलफल भयो ।’ कार्कीले प्रकट गरेको चतुर्याइँ के थियो भने, भेटमा नेता कोइरालाले सरकारलाई सघाउनेबारे के भने त्यो उल्लेख थिएन ।

जो कसैले सहजै अनुमान गर्नसक्छ, त्यो निर्णय गर्ने ठाउँमा नेता कोइराला छैनन् । केन्द्रदेखि बनेको गठबन्धनभन्दा दायाँवायाँ गर्ने अवस्थामा प्रदेशका नेताहरु छैनन् । तर, प्रदेशको सरकारलाई काँग्रेसले सघाउने भयो भन्ने सन्देश दिनलाई ‘फेसबुक कुटनीति’ प्रदर्शन गरेका कार्कीको प्रयास एकैछिन पनि टिकेन । काँग्रेस नेता कोइरालाले सञ्चारकर्मीलाई त्यस्तो कुनै कुरा नभएको बताइदिए । ‘उहाँ कतै जाँदै हुनुहुँदोरहेछ, बाटोमा मेरो घर पर्यो, आउनुभयो चिया खाइयो,’ नेता कोइरालाले हाम्रोमतसँग भने ‘समसामयिक विषयमा कुरा भयो । धेरै कुरा भएन ।’

काँग्रेस नेताहरुले यो हल्ला नियोजित रुपमा फैलाइएको बताउँदै आएका छन् । ‘गठबन्धनमा फुट ल्याउन सकिन्छ कि भन्ने भ्रममा टेकेर यसको रचना भएको थियो’, प्रदेश संसदीय दलका एक पदाधिकारीले भने, ‘यस्तो हल्ला, राजनीति बुझ्ने जो कोहीले पत्याउने स्तरको थिएन ।’ काँग्रेसले मात्रै होइन, माओवादी र समाजवादीका नेताहरुले पनि यसलाई ‘बालसुलभ’ गतिविधि भनेर टिप्पणी गरिसकेका छन् ।

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य अल्पमतमा परेपछि एमालेले उनको सत्ता जोगाउन काँग्रेस गुहारिरहेको छ । तर, काँग्रेसले यस्तो सम्भावना तत्काल नहुने जवाफ दिएर एमालेलाई निराश बनाइदिएको छ ।

यद्यपि एमालेको हल्लाले आफूहरुलाई अझै सहज बनाएको एकीकृत समाजवादी दलका नेताहरु बताउँछन् । ‘हामी काँग्रेससँग मिलेको भन्दै एमालेहरु गाली गरेका गरेकै थिए ’, समाजवादी दल प्रदेश १ का एक सांसदले भने ‘तर, हिक्मतजीको पछिल्लो सक्रियताले ताल परे एमाले नै काँग्रेससँग मिल्न खोज्दोरहेछ भन्ने सन्देश गएको छ । कार्यकर्ताहरुले यही कुरालाई नोटिस गरेका रहेछन् ।’

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।