विराटनगरस्थित सिंघीया पुल जिर्ण (फोटो)

पुलको क्षमता विस्तार तथा जिर्णोद्वार गर्न मोरङ व्यापार संघको माग

विराटनगर । मोरङको विराटनगर र कटहरी जोड्ने रंगेली रोड सडक खण्डको हाटखोलास्थित सिंघीया पुलको क्षमता विस्तार गर्न मोरङ व्यापार संघले पहल सुरु गरेको छ ।

मोरङ व्यापार संघले आज सरकारका विभिन्न निकायलाई ध्यानाकर्षण गराउँदै पुलको क्षमता विस्तार तथा जिर्णोद्वार गर्न आग्रह गरेको हो । मोरङ–सुनसरी आर्थिक कोरिडोर अन्तरगत कटहरीलगायत आसपासका क्षेत्रमा संचालनमा रहेका सयौँ उद्योग तथा कल–कारखानामा सामान ल्याउन लान यो पुलको प्रयोग हुन्छ ।

यस्तै मोरङको पूर्वी भेगका अधिकांश बजारलाई प्रादेशिक राजधानी एवम् व्यवसायिक केन्द्र विराटनगर र विराटनगर भन्सार नाकासँग जोड्न पनि सो पुल आवश्यक छ । बाढीका कारण उक्त पुल अहिले क्षतिग्रस्त भएर जर्जर अवस्थामा पुगेको छ । समय मै पुलको मर्मत नगरे समस्या आउनसक्ने भन्दै संघका अध्यक्ष प्रकाश मून्दडाले सरकारी निकायलाई ध्यानाकर्षण गराएका हुन् ।

‘सिंघीया पुलबाट औद्योगिक प्रयोजनका मालवाहक र सार्वजनिक सवारी साधनहरु आवतजावतमा दिनानुदिन चाप बढिरहेको छ’, मुन्दडाले भने, ‘पुलको जिर्ण अवस्थाका कारण ठूलो दुर्घटना निम्तिन सक्ने जोखिमलाई मध्यनजर गरी समयमै जिर्णोद्वार र क्षमता विस्तारका कार्य गर्न आवश्यक छ ।’

मून्दडाले संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री, प्रदेश नं. १ सरकारका भौतिक पूर्वाधार विकास मन्त्री, सडक विभागका महानिर्देशक र सडक डिभिजन विराटनगरका प्रमुखलाई पत्राचार गरेको जनाएका छन् ।

बुधबार, १६ भदौ, २०७८, रातीको ०८:०८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर