प्रदेश १ का ७ जना एमाले सांसदले रोजे एकीकृत समाजवादी, ३ जनाको सनाखत हुन बाँकी

विराटनगर । प्रदेश १ का ७ जना नेकपा एमालेका सांसदहरूले विभाजन भएर गठन भएको नेकपा (एकीकृत समाजवादी)मा आबद्ध हुने गरी निर्वाचन आयोगमा सनाखत गरेका छन् ।

विराटनगरस्थित प्रदेश निर्वाचन आयोगको कार्यालय पुगेर उनीहरूले आज एमाले छोड्दै समाजवादीको पक्षमा सनाखत गरेका हुन् । यसरी सनाखत गर्ने सांसदहरूमा खोटाङका राजन राई, मोरङका सावित्रा रेग्मी, इलामकी खिनु लङ्वा लिम्बू, पाँचथरका गणेश काङ्माङ, उदयपुरकी सुनिता चौधरी, संखुवासभाकी सरिता थापा र पदमकुमारी गुरुङ रहेका छन् ।

अन्य ३ जनाले पनि आजै सनाखत गर्ने बताइएको छ । भोजपुरका राजेन्द्र राई, मोरङका उपेन्द्र घिमिरे र कृष्णकुमारी राईको सनाखत हुन बाँकी छ । सांसद राजेन्द्र राई निर्वाचन आयोगमै छन् भने उपेन्द्र घिमिरे र कृष्णकुमारी राई संसद सचिवालयमा परिचयपत्र लिन गएको बताइएको छ । एमालेबाट अलग भएर गठन भएको पार्टी समाजवादी रोज्ने सांसदहरुको लागि २२ गतेसम्म सनाखत गर्ने समय निर्वाचन आयोगले दिएको थियो ।

बुधबार, १६ भदौ, २०७८, दिउँसोको ०१:०५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर