विराटनगर । प्रदेश १ का ८ जना नेकपा एमालेका सांसदहरू विभाजन भएर गठन भएको नेकपा (एकीकृत समाजवादी)मा आबद्ध हुने गरी निर्वाचन आयोगमा सनाखत गर्न पुगेका छन् । दुई जना सांसद आउँदै गरेको बताइएको छ ।
विराटनगरस्थित प्रदेश निर्वाचन आयोगको कार्यालय पुगेर उनीहरूले आजै एमाले छोड्दै समाजवादीको पक्षमा सनाखत गर्न त्यहाँ पुगेका हुन् । यसरी सनाखत गर्न पुग्ने सांसदहरूमा भोजपुरका राजेन्द्र राई, खोटाङका राजन राई, मोरङका सावित्रा रेग्मी, इलामकी खिनु लङ्वा लिम्बू, पाँचथरका गणेश काङ्माङ, उदयपुरकी सुनिता चौधरी, संखुवासभाकी सरिता थापा र पदमकुमारी गुरुङ रहेका छन् । मोरङका सांसद उपेन्द्र घिमिरे र कृष्णकुमारी राई बाटोमा आउँदै गरेको बताए । ‘हामी विराटचौकबाट दक्षिण लाग्यौं, निर्वाचन कार्यालय आउँदैछौं,’ घिमिरेले भने ।
एमालेबाट अलग भएर गठन भएको पार्टी समाजवादी रोज्ने सांसदहरुको लागि २२ गतेसम्म सनाखत गर्ने समय निर्वाचन आयोगले दिएको थियो । सांसदहरुले मंगलबार नै सनाखत गर्ने तयारी गरेको भएपनि प्रदेश १ मा सार्वजनिक विदा परेकोले सनाखतको समय एक दिन धकेलिएको हो । बाग्मती र सुदुरपश्चिमा समाजवादी रोज्ने सांसदले मंगलबार नै सनाखत गरिसकेका छन् ।