विराटनगर । विराटनगर–३ विराट नर्सिङ होमअगाडि फार्मेसी पसलमा काम गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । स्वास्थ्य क्षेत्रमा बिचौलियाको भूमिका खेलेको आरोपमा मोरङ प्रहरीले सोमबार राती पाँच जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बिवेक साह, रोहित साह, बिनोद मेहता, सुनिल राय र शेरचन चौधरी रहेका छन् । उनीहरू विराट नर्सिङ होमअगाडि काम गर्ने कर्मचारी हुन् । प्रहरीले उनीहरूलाई बिचौलियाको भूमिका खेलेको आरोपमा पक्राउ गरेको जनाएको छ । ‘विराट नर्सिङ होम अगाडिको फार्मेसीदेखि पाँच जनालाई नियन्त्रणमा लिएको छ,’ मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले भने, ‘अहिले अनुसन्धान भइरहेको छ । थप विषय अनुसन्धानपछि खुल्नेछ ।’
मोरङ प्रहरी र प्रदेश प्रहरी कार्यालय विराटनगरको टोलीले प्रदेश १ को राजधानी रहेको शहर विराटनगरको ठूला हस्पिटल अगाडि स्वास्थ्य क्षेत्रमा बिचौलियाको भूमिका खेल्ने १२ जनालाई यसअघि नै पक्राउ गरि सकेको छ । यसअघि नोबेल अगाडिको फार्मेसीबाट ७, कोशी अस्पताल अगाडिको फार्मेसीबाट ३ र न्यूरो अस्पतालअगाडिको फार्मेसीबाट २ जना गरि १२ जनालाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुलाई अभद्र व्यवहारको मुद्दामा म्याद थप गरि अनुसन्धान गर्दै आएको छ ।
यसअघि पक्राउ परेकाहरूले ठूला हस्पिटल जान लागेका बिरामीलाई बीचमै विभिन्न आश्वासन देखाएर कमिसन पाइने निजी क्लिनिक र अस्पतालमा बिरामी लैजाने गरेको प्रहरीले जनाएको छ । ‘उनीहरुले कमिसनको लोभमा बिरामीलाई अन्य अस्पताल र क्लिनिकमा लैजाने गरेका थिए,’ एसपी जिसीले भने, ‘पक्राउ परेकाहरूले अस्पतालअगाडि बसेर विभिन्न बहाना बनाएर आफू अनुकूलको अस्पतालमा पु¥याउने र औषधी किन्न पनि फार्मेसी लैजाने गरेको देखिएको छ ।’
‘पक्राउ परेका बिचौलियाले अस्पताल आएका बिरामी र आफन्तलाई यो अस्पताल राम्रो छैन । यहाँ कोभिड फैलिएको छ । राम्रो चिकित्सक अन्यन्त्र रहेको भन्दै क्लिनिकमा लैजान खोज्दा प्रहरीले पक्राउ गरेको हो,’ मोरङ प्ररीका प्रवक्ता डिएपी दिपक श्रेष्ठले भने, ‘यो गिरोहले कति बिरामीलाई ठगी गरेर क्लिनिक र सेटिङ रहेका अस्पताल लग्ने रहेछ भन्ने विषयमा थप अनुसन्धानपछि प्रष्ट हुनेछ ।’
जनस्वास्थ्यकर्मी महासंघको विरोध
विराट नर्सिङ होमअगाडिदेखि फार्मेसीमा काम गर्ने पाँच जना कर्मचारी पक्राउ गरेपछि अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघ १ नं. प्रदेश कमिटीले विरोध जनाएको छ । महासंघको प्रदेश इन्चार्ज अन्जना पोखरेलले मंगलबार प्रेस विज्ञाप्ती जारी गर्दै विरोध जनाएकी हुन् ।
‘प्रहरी प्रशासनले बिना कारण व्यवसायीहरुलाई धरपकड गरि त्रसित बनाउनु तथा सेवाग्राहीको स्वतन्त्रताको अधिकारसमेत कुण्ठित गर्न खोज्नु निजी अस्पताल सञ्चालकको मिलेमतोमा गरिएको हुन सक्ने महासंघको ठहर छ,’ विज्ञप्तीमा भनिएको छ, ‘यस्ता अमानवीय गतिविधिहरु तुरून्त रोकी बिनाकरण पक्राउ गरिएको सम्पूर्ण औषधि व्यवसायीलाई अविलम्ब रिहाइ गरी शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन र निडरतापूर्वक व्यवसाय सञ्चालन गर्ने वातवरण सिर्जना गर्न माग गर्दछौं ।’