विराटनगर । प्रदेश १ सरकारको विस्तार नहुँदै नेकपा एमालेभित्र विवाद देखिएको छ । बिहीबार आफूमात्र सपथ लिएका मुख्यमन्त्री भीमप्रसाद आचार्यले आज मन्त्रिपरिषद विस्तारको तयारी गर्दा सकस बेहोरेका छन् ।
आचार्यले आफूसँगै माधबकुमार नेपाल समूह छाडेर एमालेमा रहने निर्णय गरेका सांसदहरु बलबहादुर साम्सोहाङ र लछुमन तिवारीलाई मन्त्री बनाउने तयारी गरेका छन् ।
तर, संखुवासभाको संखुवासभाका सांसद तुलसीप्रसाद न्यौपानेलाई मन्त्री बनाउन उनीमाथि चर्को दबाब छ । नेपाल समूहमै रहेका न्यौपाने सर्बोच्चको आदेशबाट नेकपा विघटन भएपछि ओली समूहमा लागेका थिए । उनलाई मन्त्री बनाउन निवर्तमान मुख्यमन्त्री शेरधन राई र नेकपा एमालेका अध्यक्ष केपी ओलीले पनि निर्देशन दिएको बताइएको छ ।
मन्त्री बन्न बिमल कार्की र मोरङका जीवन घिमिरे पनि दौडमा रहेका थिए । तर, आचार्यले अहिलेलाई २ जनाको मात्र सपथ गराउने अडान लिएका छन् । यद्यपी न्यौपानेलाई मन्त्री बनाउनैपर्ने दबाबबीच प्रदेश प्रमुखको कार्यालयमा सपथको तयारी भइहरेको छ ।
न्यौपानेलाई मन्त्री बनाउन एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि फोन गरेर निर्देशन दिएको एमाले सांसद राजकुमार ओझाले जानकारी दिए । ‘पार्टी अध्यक्षले पनि न्यौपानेलाई मन्त्री बनाउन निर्देशन दिनुभएको छ’ उनले भने, ‘न्यौपाने पनि मन्त्री बन्न तयार भएर बस्नुभएको छ, अब मुख्यमन्त्रीले के गर्नुहुन्छ टुंगो छैन ।’ ओझाले साम्सोहाङ र तिवारी भने मन्त्री बन्ने निश्चित भएको बताए ।