खोटाङ । खोटाङ दिक्तेल रुपाकोट मझुवागढी–३ कांडे का ३३ वर्षीय गिरीराज थापाको हत्यामा संलग्न रहेका उनकै भाई २२ वर्षीय नारायण थापा र भतिजा १५ वर्षीय रुपन थापा पक्राउ परेका छन् ।
गत भदौ ९ गते दिउँसो ११ बजे घरबाट हिंडेका गिरीराज घर फर्कि नआएपछि खोजतलास गर्ने क्रममा बिहीबार बिहान मृत फेला परेका थिए । बिहानको पौने २ बजे घरदेखी अन्दाजी २०० मिटर पर बारीमा मृत अबस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
घटनाको प्रकृती हेर्दा हत्या भएको हुन सक्ने आशंकमा प्रहरीले अनुसन्धान थालेको थियो । अनुसन्धानबाट प्रहरीले मृतकका भाई नारायण र भतिजा रुपन संलग्न भएको हुनसक्ने आशङ्काका साथ उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुले घरयासी विवादका कारण भैंसी बाँध्ने प्लाष्टिकको डोरीले घाँटिमा कसी हत्या गरेको बयान दिएको प्रहरीले जनाएको छ । पक्राउ परेको दुवै जनालाई कर्तब्य ज्यान मुद्दामा कानूनी कारबाही अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।
पिकअपको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु
यसैबीच सुनसरी कोशी गाउँपालिका ३ जमुवा चोकस्थित पूर्वपश्चिम राजमार्गमा पिकअपको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ भने मोटरसाईकल पछाडी सवार घाइते भएका छन् । मृत्यु हुनेमा सप्तरी महादेवा गाउँपालिका ६ का ३५ वर्षीय राम नाथ मण्डल रहेका छन् ।
बिहीबार दिउँसो १२ बजे पश्चिमतर्फ जाँदै गरेको प्र २–०३–००१ च ३००७ नम्बरको पिकअप ले विपरीत दिशाबाट आउँदै गरेको प्र २–०१–००२ प ५६५ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाईकल चालक राम नाथको जिल्ला अस्पताल इनरुवामा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाईकल पछाडी सवार सप्तरी हुनुमान कंकालिनी नगरपालिका ११ का १९ वर्षीय सन्तोष कुमार मण्डलको नोवेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ । ठक्कर दिने पिकअप र चालक सर्लाही बर्छवा ९ का २३ वर्षीय अंशकुमार साह प्रहरीको नियन्त्रणमा रहेको छ ।