विराटनगर । कोशी बहिरा संघकी अध्यक्ष सुनिता तिवारीले बहिराहरुको समस्या समाधान गर्ने निकायका रुपमा संघको स्थापना भएको बताएकी छन् ।
बुधबार विराटनगरमा स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरुलाई श्रवण दृष्टिबिहीन तथा अपाङ्गता भएका व्यक्तिहरुको बारेमा जानकारी दिने उद्देश्यले आयोजित एक दिवसीय छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।
उनले हरेक सार्वजनिक निकायमा दोभासे राख्नका लागि सरकारले ध्यान दिनुपर्नेमा जोड दिइन् । सुचना आदानप्रदानमा समेत समस्या हुने गरेको विषय औंल्याउँदै उनले स्वास्थ्य केन्द्र, सरकारी निकाय र सार्वजनिकस्थलमा समेत दोभासेको खाँचो महसुस हुँदै गएको बताइन् ।
यस्तै कार्यक्रममा कोशी बहिरा संघका महासचिव रञ्जन कोइरालाले श्रवण दृष्टिबिहीनहरुलाई दयाको पात्र नभएर अवसरको खाँचो रहेको बताए । उनले आफुहरुलाई दयाको पात्र नबनाइदिन आग्रह समेत गरे । स्थानीय तहमा हुने हरेक कार्यक्रममा श्रवण दृष्टिबिहीनहरुलाई पनि सहभागिताको अवसर दिनुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा कोशी बहिरा संघले विगत २ वर्षदेखि सञ्चालनमा ल्याएको श्रवण दृष्टिबिहीन संरक्षण परियोजनाले गरिरहेको काम र वर्तमान परिस्थितिबारे जानकारी गराइएको थियो । परियोजना संयोजक प्रशान्त दुलालले २०६८ सालको जनगणना अनुसार मोरङमा २५४ जना श्रवण दृष्टिबिहीनहरु रहेको जानकारी गराए । संघले अहिले १९ जना श्रवण दृष्टिबिहीनलाई दैनिक क्रियाकलापहरु सिकाइरहेको उनले बताए । परियोजनाको संरक्षणमा रहेका बालबालिकाहरुलाई शिक्षण सिकाईमा कसरी लैजाने भन्ने विषयमा पनि योजनाबद्ध ढंगबाट काम भइरहेको उनले जानकारी दिए ।
अपाङ्गता भएका व्यक्तिहरुबारे स्थानीय तहको धारणा बुझ्न पनि छलफल कार्यक्रमको आयोजना गरिएको संघले जनाएको छ । कार्यक्रममा बहिरा संघका कोषाध्यक्ष जीवन दाहाल, बहिरा संघमा दोभासेको रुपमा कार्यरत सन्तोषी घिमिरे र मोरङका विभिन्न स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारी सहभागी थिए ।