विराटनगरमा १ सय ४५ परिवारको एकीकृत बस्ती निर्माण धमाधम

विराटनगर । विराटनगर महानगरपालिकाको महानगर आवास योजना अन्तर्गत १ सय ४५ घरधुरीका लागि एकीकृत बस्ती निर्माणको कार्यलाई तीव्रता दिइएको छ ।

सम्झौता बमोजिम आगामि पुस २६ गतेभित्र निर्माण सम्पन्न गरिसक्ने गरि परियोजनालाई तीव्रता दिईएको हो । हाल विराटनगर–१२ मल्हनवास्थित केशलिया खोलाको किनार एकीकृत नमुना बस्ती निर्माण कार्य धमाधम भइरहेको छ । प्रदेश १ नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्की, विराटनगर महानगरपालिका, ह्याविट्याट फर ह्युमानिटी नेपाल र सहारा नेपालको संयुक्त लगानीमा बस्ती निर्माणको कार्य सुरु भएको हो ।

सुकमबासी परिवारको नाममा ३ बिघा १६ कठ्ठा ५ धुर जग्गा खरिद गरेर बस्तीको निर्माण कार्य अघि बढाइएको नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले बताए । उनले शिक्षा, स्वास्थ, खानेपानी, सञ्चार, बिजुलीबत्ती र पक्की सडकको सहज पहुँचसहितको बस्ती निर्माण गर्न लागिएको जानकारी दिए । ‘हामी स्मार्ट सिटीको अवधारणा बमोजम अघि बढिरहेका छौं,’ उनले भने, ‘सरकारले गर्न नसकेको काम हामीले गर्दैछौं ।’

प्रतिपरिवार साढे ७ धुरका दरले जग्गा रजिष्ट्रेशन पास गरिएको उक्त बस्ती कुल ५ करोड ८० लाखको लागतमा निर्माण हुँदैछ । १ सय ४५ घरधुरी लाभान्वित हुने उक्त बस्तीका लागि प्रतिघर लागत अनुमान ४ लाख रुपैयाँ गरिएको छ । २० फिटको मुख्य सडक र नालासहित १६ फिटको सहायक सडकको सुविधासहित बस्ती निर्माण भइरहेको महानगरले जनाएको छ ।

बाँसको स्थायी संरचनामा निर्माण भइरहेको उक्त आवासमा जस्ताको छाना र बाँसको टाटीमा दुवैपट्टिबाट तार जाली राखेर प्लाष्टर गर्ने योजना छ । आवासमा प्रत्येक परिवारका लागि दुई वटा कोठा, भान्छा र शौचालय निर्माण गर्ने तयारी छ । निर्माणाधिन आवास सम्भावित जोखिम र भुकम्प प्रतिरोधी हुने ह्याबिटेट फर ह्युम्यानिटी नेपालका सिनियर प्रोजेक्ट म्यानेजर विजयकुमार गुप्ताले दाबी गरे । उनले आवासका लागि आवश्यक बाँसलाई समेत किरा नलाग्ने किसिमले उपचार गरिएको जानकारी दिए । ‘हामीले बाँसको उपचार गरेका छौं । यसको गुलियोपना हटाएर किरा नलाग्ने बनाएका छौं,’ उनले भने, ‘जसले गर्दा आवास निर्माणमा प्रयोग हुने बाँस वर्षौंसम्म खराब हुँदैन ।’

बस्ती निर्माणका लागि ४ लाख ७५ हजार प्रतिकठ्ठाका दरले खरिद गरिएको जग्गामा महानगरले आवासका साथसाथै उद्यान, विद्यालय र स्वास्थ्य केन्द्र समेत निर्माण गर्ने तयारी गरेको छ । सुकुम्बासी परिवारको घर निर्माणका लागि ह्याविट्याट नेपालले प्रतिपरिवार १ लाख २५ हजार र विराटनगर महानगरपालिकाले पनि १ करोड सहयोग गरेको छ । यसबाहेक बस्ती निर्माणमा विभिन्न दाताहरुबाट समेत १५ लाख २० हजार रुँपैयाँ आर्थिक सहयोग प्राप्त भएको नेपाली कांग्रेस विराटनगरका कार्यबाहक सभापति अरुण न्यौपानेले बताए ।

बस्तीका लागि जग्गा खरिद गर्न भने जीवन विकास समाज कटहरीले सुकुम्बासीहरुलाई ५ वर्षको भुक्तानी अवधि तोकेर १४.७ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराएको छ । सुकुम्बासी परिवारले ऋण चुक्ता गर्न मासिक ७ हजार रुपैयाँ तिर्नुपर्ने जनाइएको छ ।

बुधबार, ०९ भदौ, २०७८, साँझको ०६:१८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर