विराटनगरमा बिरामी ठग्ने विचौलियाको बिगबिगी, १० जना पक्राउ

विराटनगर । विराटनगरको दुई ठूला हस्पिटलअगाडिबाट १० जना विचौलियालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगरको नोबेल मेडिकल कलेज र कोशी अस्पताल अगाडिदेखि १० जना विचौलियालाई प्रहरीले मंगलबार राती पक्राउ गरेको हो ।

नोवेलअगाडिदेखि ७ र कोशी अस्पतालअगाडिदेखि ३ जनालाई पक्राउ गरेको मोरङ प्रहरीका प्रमुख एसपी जनार्दन जिसीले जानकारी दिए । नोबेलअगाडिदेखि पक्राउ पर्नेमा कृपा फार्मेसीका मोहमद समिर, सुजित यादव, यूनि कियर फार्मेसीदेखि रोशन गुप्ता, दाजुभाइ फार्मेसीका अमित यादव, क्याटलाइसेस फार्मेसीका मोहमद सिराद, एपी फर्मेसीका फिरोज रोय र अलि फार्मेसीका विश्वास मण्डल रहेका छन् । नोबेलअगाडिदेखि पक्राउ परेका फार्मेसीमा काम गर्ने हुन् । यस्तै कोशी अस्पतालअगाडिदेखि श्रीराम चौधरी, सूर्यनारायण यादव र मो.जली रहेको प्रहरीले जनाएको छ । उनीहरू कुन फार्मेसीका हुन् भन्ने खुलेको छैन ।

ठूला हस्पिटल जान लागेका बिरामीलाई बीचमै विभिन्न आश्वासन देखाएर कमिसन पाउने लोभमा पक्राउ परेकाले क्लिनिक र अस्पतालमा लैजाने गरेको एसपी जिसीले बताए । ‘पक्राउ परेकाहरूले अस्पतालअगाडि बसेर विभिन्न बाहाना बनाउने आफू अनुकूलको अस्पताल पु¥याउने र औषधी किन्न पनि आफूले कमिसन पाउने फार्मेसी मै लैजाने गरेको देखिएको छ,’ एसपी जिसीले भने ।

प्रहरीले यसअघि पनि अस्पतालअगाडि बसेर बिरामीलाई विभिन्न आश्वासन देखाउँदै अस्पताल लैजान भूमिका खेल्ने विराटनगर–८ अमरटोलका १८ वर्षीय प्रधुम्न राय र सोही ठाउँका २३ वर्षीय आनन्दकुमार साहलाई पक्राउ गरेको थियो । पक्राउ परेका राय र साह विराटनगरस्थित न्यूरो हस्पिटलअगाडिको ज्ञानु फार्मेसीमा काम गर्ने हुन् । उनीहरूले ठूला अस्पताल आएका विरामीलाई विभिन्न प्रलोभन देखाएर आफू अनुकूलको अस्पताल लैजाने गरेको प्रहरीले जनाएको छ ।

‘पक्राउ परेका विचौलियाले अस्पताल आएका बिरामी र आफन्तलाई यो अस्पताल राम्रो छैन । यहाँ कोभिड फैलिएको छ । राम्रो चिकित्सक अन्यन्त्र रहेको भन्दै क्लिनिकमा लैजान खोज्दा प्रहरीले पक्राउ गरेको हो,’ मोरङ प्ररीका प्रवक्ता डिएपी दिपक श्रेष्ठले भने, ‘यो गिरोहले कति बिरामीलाई ठगी गरेर क्लिनिक र सेटिङमा रहेका अस्पताल लग्ने रहेछ । अन्य थप विषय अनुसन्धानपछि प्रष्ट हुनेछ ।’

मंगलबार राती पक्राउ परेका १० जनालाई मोरङ प्रहरीले म्याद थप गर्न लैजाने तयारी गरेको छ । स्रोतले दिएको जानकारी अनुसार प्रहरीले पक्राउ परेका १० जनालाई अभद्र व्यवहारको मुद्दामा जिल्ला प्रशासन कार्यालयमा म्याद थप गरि अनुसन्धान गर्ने तयारी गरेको छ ।

यता नोबल अगाडिका फार्मेसीले औषधी पसलमा काम गर्नेहरूलाई के आरोपमा पक्राउ परेको प्रहरीले जानकारी नदिएको भन्दै विरोध जनाएका छन् । उनीहरू नोबेल बाहिर फार्मेसी र मोरङ प्रहरी कार्यालय बाहिर भेला भएर फार्मेसीमा काम गर्नेहरूलाई के कारणले पक्राउ गरेको प्रष्ट पार्न माग राखेका छन् ।

यता नोबलअगाडिको आरके क्यापिटल फार्मेसीका संचालक सम्भू मेहताले के कारणले पक्राउ गरेको अहिलेसम्म प्रहरीले कुनै जानकारी नदिएको बताए । ‘पक्राउ गरेको विषयमा जानकारी लिन जाँदा पनि हामीलाई प्रहरीले भन्न मानेको छैन । मंगलबार राती सादा पोशाकमा एक्कासी प्रहरी आयो र नोबेल अस्पतालअगाडि काम गरेर बसेका फार्मेसीका कर्मचारीलाई प्रहरीको भेनमा हालेर लगियो,’ उनले भने, ‘अहिलेसम्म के गरेको विषयमा पक्राउ गरियो त्यो हामीलाई जानकारी दिएकै छैन ।’

बुधबार, ०९ भदौ, २०७८, दिउँसोको ०२:१४ बजे

प्रतिक्रिया

प्रतिक्रिया:

सम्बन्धित खवर