जसले गरे ९० औं पटक रक्तदान, १ सयौं पटक पुर्याउने इच्छा

विराटनगर । विराटनगर मेनरोडका औषधि व्यवसायी हरिमोहन श्रेष्ठले ९० औं पटक रक्तदान गरेका छन् ।

विराट अस्पतालमा उपचारत मोरङ उर्लाबारीका सञ्जय माझीका लागि उनले सोमबार रक्तदान गरेका हुन् । आइतबार राति उर्लाबारी–४ वरगाछीमा भएको मोटरसाइकल दुर्घटनामा परि माझीको अस्पताल भर्ना गरिएका उनको करङ भाँचिएर छातिमा रगत जमेको र शल्यक्रियाका लागि ए पोजेटिभको ताजा रगत आवश्यक भएको डाक्टरले भनेका थिए । त्यसैले ए पोजेटिभ भएका श्रेष्ठले रक्तदान गरेको विरामीका दाजु भोलानाथ माझीले बताए ।

श्रेष्ठले तीन–तीन महिनामा रगतको आवश्यक परेका विरामीलाई दिउँसो राति केही नभनी रगत दिँदै आएका छन् । यसअघि पनि उनले वैशाख १९ गते खोटाङ चिसापानीकी उर्मिला राईका लागि उनले रक्तदान गरेका थिए । यस पटक तीन महिना पुग्नसाथ रक्तदान गर्न खोजेपनि कोरोना खोप लगाएको २४ दिनपछि मात्र पाइने भएपछि ढिलो गरी रक्तदान गर्नु परेको बताए ।

कम्तीमा एक सय पटक रगत दिने रहर रहेको श्रेष्ठले बताए । विराटनगरमा १०० पटक भन्दा बढी रगत दिनेमा डा. केएन ठाकुरको कीर्तिमान छ । यस्तै नेपालमा प्रेमसागर कर्मचार्य (काठमाडौं) १६६ पटक र बढी पटक रक्तदान गर्ने नेपालीमा अर्जुन मैनाली छन् । हाल अमेरिकामा रहेका मैनालीले आफ्नो रक्तदानको ३४ औं वार्षिकोत्सव मनाउँदै शुक्रबार १९९ पटक रक्तदान गरेका हुन् । यस अवधिमा उनले दिएको रगत ५ सय ९७ जनाको जीवन रक्षाका लागि उपयोग भएको जनाइएको छ ।

सोमबार, ०७ भदौ, २०७८, रातीको ०८:५४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर