विराटनगर । महामारी, विपद र हिंसा पीडितहरुको सवालमा काम गर्नका लागि सबै क्षेत्रको समन्वय आवश्यक भएको सरोकारवालाले बताएका छन् ।
विराटनगरमा सोमबार साझा सवालका लागि साझा मञ्च कोकनले आयोजना गरेको हेल्पलाइन र मनोविमर्श विषयक अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले साझा सवालमा साझा समन्वयको खाँचो भएको बताएका हुन् । सरोकारवालाहरुले यो सेवा सँधै उपलब्ध गराउनुपर्ने र सबैको पहुँचमा हुनुपर्नेमा जोड दिएका छन् ।
हिंसाबाट पीडितलाई न्याय र सेवा कहाँ कसरी पाइन्छ ? भन्ने सूचना दिन र उनीहरुलाई मनोविर्मश सेवा प्रदान गर्नका लागि साझा हेल्पलाईन सेवा अति आवश्यक देखिएकोले सञ्चालन गर्न सरकारले चासो दिनुपर्ने उनीहरुको भनाइ छ ।
साझा हेल्पलाईन दिगो रुपले सञ्चालन गराउन सरकार र गैरसरकारी क्षेत्रबीच समन्वय हुन आवश्यक भएको उनीहरूको भनाइ छ । अधिवक्त्ता तथा कोकनका सल्लाहकार कोषराज न्यौपानेले सूचनाको अभावमा सामान्य समस्या पनि समाधान गर्न गाह्रो हुने देखिएकोले हेल्पलाइनको व्यवस्था र सबैको पहुँचमा हुने गरी संचालन गर्न अत्यन्त जरुरी रहेको बताए ।
राष्ट्रिय मानव अधिकार आयोग प्रदेश १ निर्देशक नितु गड्तौलाले सबै निकायहरुको काम गर्ने तरिका र सिमितता आ–आफ्नै हुने भएकोले महामारी र विपद्को अवस्थामा मात्र नभएर अन्य अवस्थामा पनि न्याय र सेवा नपाएका पीडितहरुका लागि साझा हेल्पलाइन सेवाबाट सूचना लिन र सेवा प्राप्त गर्न सहयोग पुग्ने बताइन् ।
सिविन विराटनगरका संयोजक बासु अधिकारीले कोभिड संक्रमण जस्तो महामारीका बेला सबैका लागि साझा हेल्पलाइनको अभाव अति नै खड्किएको महशुस भएको र सबै क्षेत्रमा समन्वयको कमी हुने गरेकोले पनि साझा हेल्पलाइन सेवा अपरिहार्य रहेको बताए ।
इन्सेक प्रदेश एक संयोजक सोमराज थापाले गैरसकारी क्षेत्रबाट मात्र नभई सरकारको सहभागितामा महामारी, विपद र अन्य पीडितका लागि दीर्घकालिन रुपमा साझा हेल्पलाइन सञ्चालन भए प्रभावकारी हुने बताए ।
कोशी कोभिड अस्पताल विराटनगरका प्रमुख बैजनाथ साहले मनोविमर्शसहितको साझा हेल्पलाइन सेवा आवश्यक रहेकोमा जोड दिए । उनले कोशी कोभिड अस्पतालमा बेड खाली भए/नभएको सुचना र भर्ना भएका तथा निको भएर फर्कन लागेका विरामीका लागि मनोविमर्श सेवा धेरै महत्पूर्ण रहेको अनुभव सुनाए । प्रमुख साहले मनोविमर्श सेवाले जटिल अवस्थामा रहेका विरामी पनि छिटो र राम्रो तरिकाले निको भएको बताउँदै पोस्ट कोभिडको समयमा पनि मनोविमर्श सेवा प्रदानका लागि समन्वय गर्न कोकनसँग आग्रह गरे ।
कोकन अध्यक्ष मन्जिता उपाध्यायले दोस्रो महामारी सुरु भएपछि प्रभावकारी सेवाबाट वञ्चित हुन नदिन कोकनले आफै पहल लिएर अल्पकालिन हेल्पलाइन सेवा सुरु गरेको र अति नै प्रभावकारी भएको बताइन् । उनले सरकारले चासो दिएर उचित प्रचारप्रसार गराउन सके सबै समयमा साझा हेल्पलाइन सेवा पीडितका लागि फलदायी हुने बताइन् ।
उनले कोकनले निःशुल्क सेवा प्रदान गर्दै आएकोले यसको प्रभावकारिता अझ बढाउन सरोकारवालाहरुसँग समन्वय आवश्यक रहेको बताइन् । कोकनले अल्पकालिन रुपमा सञ्चालन गरेको हेल्पलाइन सेवाकी फोकल पर्सन इन्दिरा भट्टराईका अनुसार छोटो समयमा कम प्रचारप्रसार भएपनि हेल्पलाइन सेवाबाट धेरैले प्रभावकारी रुपमा सेवा पाएका छन् । हेल्पलाइन सुरु भएको ६ महिनाको अवधिमा झापा, इलाम, मोरङ, सुनसरी, धनकुटा मात्र नभएर मुगु र सिन्धुपाल्चोक गरि कुल ७० पुरुष र २० जना महिलाहरुले सेवा लिएका छन् ।
हेल्पलाइनमार्फत धेरै अस्पतालबारे बुझिदिनुपर्ने, औषधी र ब्लड खोजिदिनुपर्ने, सुरक्षित होटलबारे जानकारी दिनुपर्ने, उपचारको अवस्था कस्तो छ भन्नेबारे जानकारी गराउनेदेखि विरामी, आफन्त र हिंसा पीडितलाई फोनमार्फत मनोविमर्श सेवा दिइँदै आएको छ ।