विराटनगर । विराटनगर जेसिजले आफ्ना पूर्व अध्यक्ष श्यामसुन्दर पौडेल (मिलन)लाई नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा उठाउने भएको छ ।

विराटनगर जेसिजको सचिवालयमा आज भएको वर्ष २०२१ को दोस्रो साधारणसभाले पौडेललार्इ सर्वसम्मत राष्ट्रिय अध्यक्ष बनाउने निर्णय गरेको हो ।

निर्णय पारित भएसँगै विराटनगर जेसिजले अध्यक्ष जिताउ अभियान सुरु गर्ने भएको छ । सोका लागि हरिबहादुर श्रेष्ठको संयोजकत्वमा विशेष समिति निर्माण गरेको छ । जसमा पूर्वअध्यक्ष ठाकुरप्रसाद आचार्यको नेतृत्व रहने गरि मुख्य संयोजकत्वमा विभिन्न उपसमिति पनि निर्माण गरिएको छ ।

आफ्नो उम्मेद्वारी साधारणसभाबाट पारित भएसँगै अध्यक्ष पदका उम्मेद्वार पौडेलले आफ्नो उमेद्वारी समग्र १८ देखि ४० वर्षसम्मका युवाको हितमा हुने बताए। युवाहरूलाई उद्यमशिल बनाएर छाड्ने आफ्नो अभियान रहेको र सो अभियानलाई सार्थक पार्न आफ्नो उम्मेद्वारी रहेको उनले बताए । ‘जबसम्म एउटा युवालाई भित्रैबाट प्रज्वलित गर्न सकिँदैन तबसम्म कहिले पनि हामीले सोचेको उद्देश्य प्राप्ती हुँदैन,’ उनले भने, ‘जबसम्म युवा उद्यमशिल बन्न सक्दैन, उद्यमी बन्न सक्दैन तबसम्म समाज परिवर्तन सम्भव छैन ।’ आफ्नो मुख्य उद्देश्य नै युवालाई उद्यमशिल बनाएर देश विकासको अभियानमा सामेल गराउने रहेको उनको भनाइ छ ।

पौडेल विराटनगरको स्थानीय मोरङ सहकारी अस्पताल तथा कोशी हेल्थ कलेजको संचालक हुन् । उनले जेसिज अभियानमा समर्पित हुँदै जेसिजका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभामा सहभागिता जनाएका छन् । उत्कृष्ट कार्यकारी राष्ट्रिय पदाधिकारी अवार्ड २०१९, उत्कृष्ट राष्ट्रिय पदाधिकारी अवार्ड २०१८ बाट समेत राष्ट्रियस्तरमा पौडेल पुरस्कृत भइसकेका छन् ।

उनी राष्ट्रिय पदाधिकारी हुँदा १५६ शाखाको भ्रमण गरि हरेक जेसिजका सदस्यसँग हातेमालो गर्दै अघि बढेका छन् । वर्ष २०२१ मा राष्ट्रिय अध्यक्षको उम्मेद्वारी दिएका पौडेलले सहमति र सहकार्यका लागि भन्दै उम्मेद्वारी फिर्ता लिएका थिए । विराटनगर जेसिजका अध्यक्ष प्रदिप दाहालले आफ्नो शाखाले राष्ट्रिय अध्यक्षको उमेदवार उठाएकाले शाखाका सबै पदाधिकारी, सदस्य तथा पूर्व अध्यक्षहरुलार्इ सोही अनुसार सक्रिय भएर लाग्न र २२ वर्षदेखिको राष्ट्रिय अध्यक्षको खडेरीलाई चिर्दै यस वर्ष अध्यक्षमा जिताएरै छाड्ने प्रतिज्ञा गर्दै अघि बढ्न अनुरोध गरेका छन् ।