विराटनगर । अपराध अनुसन्धानमा अब्बल मानिएका मोरङ प्रहरीमा कार्यरत डिएसपी मञ्जिल मुकारूङ सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले डिएसपी मुकारूङलाई साउन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको हो ।
सर्वोत्कृष्ट घोषित भएका डिएसपी मुकारूङले जघन्य प्रकृतिका अपराधिक घटनाको सुक्ष्म अनुसन्धान गर्ने प्रहरी अधिकृतको छबी बनाएका छन् ।
चैतमा मोरङ आएका उनले जिल्लामा जघन्य प्रकृतिको अपराधिक घटनाको सफल अनुसन्धान गरि अभियुक्त पक्राउ गर्न सफल भएका छन् । उनले पूर्वाञ्चल विश्वविद्यालय अन्तरगतको इञ्जिनियरिङ संकाय स्नातक दोस्रो सेमिस्टरको भौतिक शास्त्र परीक्षाको प्रश्नपत्र आउट गर्ने गिरोहका मुख्य नाइकेसहित १० जनालाई पक्राउ गरि कारवाहीको दायरामा ल्याउन सफल भएका थिए ।
यस्तै वैशाख १९ मा मोरङको कानेपोखरी १ होक्लाबारीकी ३२ वर्षीय सरीता सोरेनको हत्या गरि भारत तिर फरार भएका प्रेमी रतुवामाई ६ का ३० वर्षीय सफल हस्तालाई पनि पक्राउ गर्न सफल भए । भारत पुगेर प्रेमी हत्या आरोपि हस्तालाई उनले पक्राउ गरेर ल्याएका थिए ।
यस्तै दिनदहाडै सुन्दरहरैंचामा अत्याधुनिक हतियार देखाएर सुनचाँदी पसल लुट्न प्रयास गर्ने गिरोहका मुख्य नाइके पूर्व नेपाली सेनाका जवान चन्द्रबहादुर राई र पूर्व लडाकु प्रमोद चौधरीसहित ७ जना हतियराधारी समूहलाई पक्राउ गरि कानुनी दायरमा ल्याउन उनले भूमिका खेलेको प्रदेश प्रहरीले जनाएका छन् ।
यसअघि अपराध महाशाखामा एक वर्ष र प्रहरी प्रधान कार्यालयको विशेष ब्यूरोमा चार वर्ष काम गरिसकेका मुकारूङलाई मोरङ आएपछि पनि अपराध अनुसन्धानको जिम्मेवारी दिएको छ । पाएको जिम्मेवारी कुशलतापूर्वक गर्न सक्ने क्षमता भएका डिएसपी मुकारूङले मोरङमा अहिलेसम्म घटेको जति पनि ठूला अपराधिक घटनामा संलग्न अभियुक्तलाई पक्राउ गर्न सफल भएका छन् ।
विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ भएर कर्तव्य ज्यान जस्ता जघन्य प्रकृतिका अपराध गरी वारदात पश्चात फरार रहेका प्रतिवादीहरु, चोरी पैठारीलगायत विभिन्न अपराधिक घटनामा संलग्न व्यक्तिहरुलाई पक्राउ गरि कानूनी कारबाहीको दायरामा ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै उनलाई सर्वोत्कृष्ट प्रहरी घोषित गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रदेश प्रहरीले प्रहरी जवान टिकाराम खापुङलाई साउन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको छ । प्रहरी चौकी मेल्छाम, हुम्ला दरबन्दी भई १ नं. प्रदेश प्रहरी कार्यालय, विराटनगर रिट शाखामा उनी कार्यरत छन् । उनीहरुले गरेको उत्कृष्ट कार्यसम्पादनको उच्च मूल्याङकन गर्दै २०७८ साउन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको प्रदेश प्रहरीले जनाएको छ ।
प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङ्कन गर्दै प्रदेश प्रहरीले १ नम्बर प्रदेशका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ । सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको विवरणसहितको फ्लेक्स प्रिण्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा निर्माण गरिएको स्तम्भ तथा प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ‘क’ स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिनासम्म राखिँदै आईएको छ ।

