गोल्डेन अस्पताल विराटनगरमा फेरी तनाब : विरामीको मृत्युभएपछि रातभर तनावग्रस्त

विराटनगर । यसअघि पिलोको उपचार गर्दा विरामीको मृत्यु भएको विराटनगरस्थित गोल्डेन अस्पतालमा बिहीबार खुट्टा भाँचिएको विरामीको उपचार गर्दा गर्दै मृत्यु भएको छ । दुर्घटनामा परी दाँया खुट्टा भाँचिएको विराटनगर–७ मिलन चोकका ५२ वर्षीय जनक सिंह बस्नेतको बिहीबार ७ बजे मृत्यु भएपछि अस्पताल तनाबग्रस्त बनेको हो ।

बिहीबार दिउँसो १ बजेतिर मिलन चोकबाट पैदल हिँडेर घर जाँदै गरेका बस्नेतलाई ना ७ छ ३१३ नं. को ग्याँस बोक्ने कन्टेनरले ठक्कर दिएको थियो । दुर्घटनामा घाइते भएका बस्नेतलाई उपचारका लागि गोल्डेन अस्पतालको आकस्मिक कक्षमा राखिएको थियो । पछि थप उपचारको लागि आसियूमा भर्ना गरियो । दिउँसो सामान्य अवस्था रहेपनि साँझ सिकिस्त भएकाले अस्पतालले तत्काल रगत लिएर आउन भनेको र रगत लिएर आइपुगदा मृत्यु भइसकेको चिकित्सकहरुले बताएको मृतकका दाजु पुष्पराज बस्नेतले जानकारी दिए ।

‘दिउँसोसम्म राम्रो भएको र चिकित्सकले हप्तादेखि १० दिनभित्रमा विरामीलाई डिस्चार्ज दिने भनेको थियो । बिहीबार साँझतिर एक्कासी मलाई दुई पाउन्ड ब्लड आवश्यक प¥यो भन्ने जानकारी आएपछि मैले ब्लड बोकेर अस्पताल पुग्दा विरामीको मृत्यु भएको जानकारी आयो,’ मृतकका दाजु बस्नेतले भने, ‘दिउँसोसम्म ठिक भएको भाइको साँझतिर मृत्यु भयो भन्दा पत्याउनै गाह्रो भयो ।’ उनले हस्पिटल र चिकित्सकको लापरवाहीले भाइको मृत्यु भएको आरोप लगाए । ‘अहिले रगत समयमै ल्याउन नसक्दा विरामीको मृत्यु भएको भन्दै आएको छ । दिउँसो दुर्घटना हुने बित्तिकै हामीले चिकित्सकले केही भनिए,’ उनले भने, ‘बेलैमा रगतको व्यवस्था गर्नु भनेको भए हामीले रगतको जोहो गर्ने थियौं । यो सरासर अस्पताल र चिकित्सकको लापरवाहीले भाइको मत्यु भयो ।’

उनले भाईको दुर्घटनामा परेर देब्रे खुट्टा भाँचिएको र हातमा थोरै चोट लागेकाले साँझसम्म अवस्था सामान्य रहेपनि अस्पतालको लापरवाहीका कारण मृत्यु भएको आरोप लगाए । ‘दिउँसो एक्सिडेन्ट भएपनि मैले नै अस्पताल लगेर एडमिट गरेको हुँ । अस्पताल पुर्याएपछि डाक्टरले देब्रे खुट्टा भाँचिएको छ, एडमिट गर्नुपर्छ भनेर आइसियुमा राख्नुभयो ।’

बस्नेतले अस्पतालको लापरबाहीका कारण मृत्यु भएकाले उपचारमा लापरबाही गर्ने चिकित्सक र अस्पताललाई कारबाही गरिनुपर्ने माग राखेका छन् । ‘उपचारमा लापरबाही गर्ने चिकित्सक र अस्पताललाई कारबाहीको लागि स्थानीय प्रशासनले छानविन टोली गठन गरिनु पर्दछ,’ मृतकका दाजु पुष्पराजले भने ।

बढी ब्लिडिङ हुँदा बचाउन सकिएन : अस्पताल

यता गोल्डेन अस्पतालका प्रशासकीय अधिकृत सन्तोष मेहताले दुर्घटना भएकोले विरामीको अत्याधिक ब्लिडिङ भएको र समयमै रगत पाउन नसक्दा विरामीको मृत्यु भएको बताए । ‘दुर्घटनामा गम्भीर चोट लागेका कारण बढी ब्लिडिङ भएको रहेछ,’ उनले भने, ‘बिरामीका आफन्तले समयमै रगत उपलब्ध गराउन सक्नु भएको रहेनछ । त्यसैले रगत अभाव भएको कारण विरामीलाई बचाउन सकिएन ।’

तोडफोड हुन नदिन ठूलो संख्यामा प्रहरी

विरामीको मृत्यु भएपछि मृतकका आफन्तले अस्पतालमा तोडफोडको प्रयास गरेका थिए । विरामीको मृत्यु भएपछि तनाग्रस्त बनेको अस्पताल तोडफोड हुन नदिन मोरङ प्रहरीले ठूलो संख्यामा प्रहरी परिचालन गरेको थियो । मोरङ प्रहरीले वान टन ठूलो गाडी र तीन वटा प्रहरीको भेनमा प्रहरी परिचालन गरेको थियो ।

यस अघि गत साउन १८ गते मोरङको धनपालथान गाउँपालिका–६ का अमहद हुसेनको पनि गोल्डेन अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो । पिलोको उपचार गर्दा चिकित्सकको लापरवाहीले मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पतालमा तोडफोड गर्नुका साथै कर्मचारीलाई कुटपिटसमेत गरेका थिए ।

शुक्रबार, ०४ भदौ, २०७८, बिहानको ११:५६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर