विराटनगर । स्वास्थ्य मापदण्डको पालना गर्दै विद्यार्थी, शिक्षक र कर्मचारीहरूलाई खोपको व्यवस्था गरि कक्षा १२ को वार्षिक परीक्षा संचालन गर्नुपर्ने निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले माग राखेको छ ।
कक्षा १२ को परीक्षा उत्तिर्ण हुने विद्यार्थीले देश–विदेशका विश्वविद्यालयमा प्रवेश पाउने र मेडिकल, इन्जिनियरिङलगायत उच्च शिक्षामा भर्ना हुने अत्यावश्यक खुड्किलो भएको हुँदा परीक्षा रोकिँदा लाखौं विद्यार्थीहरुको एक शैक्षिक सत्र खेर जाने निश्चित भएकोले हुनाले १५ दिनभित्रमा परीक्षा गर्नुपर्ने माग राखेको हो ।
‘कक्षा १२ को परीक्षामा सामेल हुने विद्यार्थी र सबै शिक्षक–कर्मचारीहरुका लागी अविलम्ब खोपको व्यवस्थापन गरी १५ दिनको अवधि राखी तत्काल उक्त परीक्षा सञ्चालन गर्ने कार्यक्रम प्रकाशित गराई परीक्षाको सुनिश्चिता कायम गरिनुपर्ने,’ प्याब्सनका अध्यक्ष टिकाराम पुरीले बिहीबार जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
शैक्षिक सत्र २०७७ मा ८–९ महिना विद्यालयहरु बन्द रहेको र शैक्षिक सत्र २०७८ मा समेत हालसम्म विद्यालयहरु भौतिक रुपमा सञ्चालन हुन नसकेको, अनलाइनलगायतका वैकल्पिक माध्यमबाट विद्यालयहरुले निरन्तरता दिइरहेको विज्ञप्तीमा उल्लेख छ ।
यसैगरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत २० कार्तिकमा जारी गरेको “विद्यालय पुनः सञ्चालन सम्बन्धी कार्यढाँचा २०७७” द्वारा निर्देशित विधिको पूर्ण पालना गर्ने गरी महामारीको संक्रमण कम हुँदै गएको क्षेत्रहरुमा भौतिक रुपमा क्रमशः विद्यालयहरु खोल्ने निर्णय पालिकास्तरमा गर्न सक्ने वातावरण बनाइदिन पनि प्याब्सनले संघीय, प्रदेश सरकार, स्थानीय पालिका, सरोकारवाला संघ संस्था, पेशागत संगठन र नागरिक समाज समक्ष अनुरोध गरेको छ ।





प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।