विराटनगर । अछुत भएकोले कूलको सांस्कृतिक कर्ममा चलाउन नसक्ने भन्दै घरपरिवारले अस्वीकार गरेपछि विवाह गरेको १५ वर्षपछि विराटनगरका एक व्यक्तिले दलित भएकै कारण श्रीमती र १३ वर्षका छोरालाई अलपत्र बनाएर बहुविवाह गरेका छन् ।

विराटनगर महानगरपालिका ५ सम्झना चौकका ३७ वर्षीय सविन गैरेले सुनसरी धरान ८ माइती भएकी ३६ वर्षीया सम्झना गैरे (दर्जी) र १३ वर्षका छोरा प्रतिक गैरेलाई अलपत्र पारेर बहुविवाह गरेका हुन् ।

विवाहपछि आफू जापान बस्दै आएका सविनले श्रीमती र छोरालाई काठमाडौं भाडाको घरमा राख्दै आएका थिए । बेलाबेला जात ढाँटेर घरमा ल्याउने गर्दथे । तर सम्झना दलित समुदायको हो भन्ने थाहा पाएपछि घरपरिवारले साँस्कृतिक कर्ममा चलाउन नसक्ने भन्दै स्वीकार गर्न मानेनन् । त्यसपछि काठमाडौं मैतीदेवी चौकस्थित भाडाको घरमा बस्दै आएका श्रीमती र छोरालाई अलपत्र छाडेर सविनले २०७७ मंसिरमा झापा सुरुङ्गा घर भएकी ममता ओलीसँग घरपरिवारको उपस्थितिमा झ्याँझ्याँई बाजा बजाएर बहुविवाह गरेका थिए ।

यता १५ वर्षपछि आफू र छोरालाई अलपत्र पारेर बहुविवाह गरेको थाहा पाएपछि श्रीमती सम्झानाले सविन र ममताविरुद्ध जिल्ला प्रहरी मोरङमा बहुविवाह कसुरमा किटानी जाहेरी दर्ता गराइन् । तर प्रहरीले सविन र ममतालाई पक्राउ नगरि अनुसन्धान सकाएर मुद्दा अदालतमा बुझायो । त्यसपछि अदालतमा सुटुक्क हाजिर भएर सविन डेढ लाख धरौटीमा पुर्पक्षका लागि छाडिए ।

विवाहपछि पटक–पटक पति सविनसँग विराटनगर ससुराली घर आएकी सम्झनालाई सासु ससुराहरुले समेत आफूहरूकी बुहारी नभएको र कहिल्यै नदेखकोले चिन्दा पनि नचिन्ने कानुनी बयान दिएका छन् । तर उनीहरुले अस्वीकार गरेपनि विवाह दर्ता र छोराको जन्मदर्ता र सविनसँग विवाह गर्दाका फोटाहरू सम्झनासँग सुरक्षित छ ।

भाडाको घरमा काठमाडांै मैतीदेवी चौकमा बस्दै आएकी सम्झना बहुविवाह गरेर श्रीमानले छाडेपछि हाल धरान माइतीघरको शरणमा छोरासँगै बस्न थालेकी छन् । १५ वर्षसम्म साथ दिएको श्रीमानले धोका दिएर अलपत्र बनाएपछि आजकल सम्झनालाई जिविका चलाउन पनि धौधौ परेको छ । उनले रिनपान गरेर आफू र छोराको जेनतेन जिविका धान्दै आएको बताइन् ।

सम्झनाका अनुसार पछिल्लो समय सविन धेरै दिन काठमाडौं डेरामा आएनन् । नियमित सम्पर्क गरिरहने र छोरालाई पनि असाध्यै माया गर्ने उनले फोन सम्पर्क पनि गरेनन् । पछि किन यस्तो भयो भनेर सोधखोज गर्दा श्रीमान सविनले श्रीमती र छोरा हुँदाहुदै परिवारकै सहयोगमा झ्याँइझ्याई बहुविवाह गरेर गायब भएको सम्झनाले थाहा पाइन् । त्यसपछि उनी श्रीमान् खोज्दै विराटनगरस्थित ससुराली पुगिन । तर ससुरा शिवहरि गैरे लगायतले ‘तिमी अछुत जातकी रहेछौ यसैले तिमिलाई कुलमा चलाउन सकिँदैन बरु ८ दश लाख रुपैयाँ दिन्छांै गरेर खाउँ यहाँ आएर दुःख नदेउ’ भन्दै हप्काएर पठाए ।

आफूले सविनसँग १५ वर्षअघि विवाह गरेको, पटक–पटक घर आइसकेको र १३ वर्षको छोरा समेत भैसकेको अनि विवाह र जन्मदर्ताको प्रमाण सुरक्षित भएकोले कानुनी हक खोज्न बाध्य हुने सम्झनाले चेतावनी दिइन् । तर सासुससुरा आफन्तहरुले ‘हामी पहुँचवाला हौं, तिमीले चाहेर पनि हामीलाई केही गर्न सक्दैनौ जे गर्नु छ गर तिमीलाई हामी चिन्दैनांंै’ भन्दै धम्की दिएका थिए ।

कथित जातकै कारण बहुविवाह गरेर श्रीमानले आफू र छोरालाई अलपत्र बनाएको र अदालतले पनि धरौटीमा छाडिदिएकोले सम्झना झन् बिलखबन्दमा परेकी छन् । उनले न्यायका लागि सबैसँग गुहार मागिरहेकी छन् । उनले रुँदै भनिन्, ‘सबै प्रमाण हुँदाहुदै पनि बहुविवाह गर्ने व्यक्ति धरौटीमा छाडिएछ, दलित भएकै कारण म र मेरो छोरा अलपत्र भयौं हामीलाई भगवानले पनि न्याय दिलाएनन् ।’

सम्झानाका अनुसार १५ वर्षअघि उनी काठमाडौंमा ब्यूटीपार्लर व्यवसाय सञ्चालन गर्थिन् । जापान जान भनेर काठमाडौं आएका सविन र उनको भेटघाट प्रेम हँुदै २०६३ मा विवाहमा परिणत भएको थियो । विवाहको एक वर्षपछि सविन जापान गएका थिए । जापानमा रेष्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै आएका उनले काठमाडौंमा श्रीमती र छोरालाई डेरामा राखेर संरक्षण गर्दै आएका थिए । उनले जापानबाट श्रीमती सम्झनासँग नियमित सम्पर्क गरि पैसा पठाउने र समयसमयमा आउजाउ पनि गर्ने गरेका थिए । बेलाबेला उनले जात ढाँटेर श्रीमती र छोरालाई विराटनगरस्थित घर पनि ल्याउने गरेका थिए । तर सँधै डेरामा बस्न गाह्रो हुने बरु घरमै बसेर व्यापार–व्यावसाय पनि गर्न सकिने, छोराको हेरचाह र पढाई पनि राम्रो हुने भन्दै सम्झनाले आग्रह गर्दा सविनले घरमा ल्याएर सँधैका लागि राख्न आलटाल गर्ने गरेका थिए । उनले चाँडै आमाबुबालाई सम्झाएर घरमा ल्याएर राख्ने आश्वासन दिन्थे । पछिल्लो समय कोरोना संक्रमण सुरुभएपछि लकडाउनले गर्दा नेपाल आएका सविनले गत वर्ष झापाकी ममता ओलीसँग श्रीमती र छोरा हुँदाहुदै झ्याँझ्याँइ बाजा बजाएर विवाह गरेका थिए ।