विराटनगर । नेकपा एमाले विभाजित भएर गठन भएको माधवकुमार नेपाल नेतृत्वको नेकपा एमाले समाजवादीको केन्द्रीय कमिटीमा प्रदेश १ बाट १६ जना नेताहरु समेटिएका छन् ।
बुधबार दर्ताको लागि निवेदन दिएको पार्टीमा वरिष्ठ नेताका रुपमा झलनाथ खनाल छन् । उनी नेपालपछिको दोस्रो वरियतामा छन् ।
केन्द्रीय कमिटी सदस्यहरुमा जयन्ती राई (भोजपुर), जगन्नाथ खतिवडा (उदयपुर), घनेन्द्र बस्नेत (मोरङ), राजेन्द्र राई (भोजपुर), बलदेव चोधरी (उदयपुर), डा.देउमान सम्बाहाम्फे (मोरङ), भाष्कर काफ्ले (ताप्लेजुङ), रविन कोइराला (झापा), महम्मद महफुज अन्सारी (सुनसरी), नरेश खरेल (झापा) र महेश रेग्मी (मोरङ) छन् । उनीहरु यसअघि पनि एमालेको केन्द्रीय सदस्य रहेका थिए ।
प्रदेश १ मा नेपाल पक्षीय भनेर चिनिएका एमालेका सचिबद्वय योगेश भट्टराई र भीम आचार्यको नाम नयाँ पार्टीको केन्द्रीय समितिमा छैन । उनीहरुले पछिल्लो पार्टी विभाजनको विपक्षमा आफ्नो मत राख्दै जसरी पनि ओलीसँग एकता गर्नुपर्ने पक्षमा उभिएका थिए ।
प्रदेशमा नेपाल पक्षका भनेर चिनिएका केन्द्रीय सदस्यहरु मोरङका जीवन घिमिरे र खोटाङका राजन राई पनि ९५ सदस्सीय केन्द्रीय कमिटीमा छैनन् । उनीहरुले माधव नेपालको साथ छाडेका हो कि हैन भन्ने खुलिसकेको छैन ।
एमाले समाजवादीको केन्द्रमा प्रदेश १ बाट उदयपुरका सुरेश कार्की, पाँचथरका गणेश काङ्बाङ, मोरङकी विद्या चाम्लिङ मोरङ र उदयपुरकी दुर्गा परियार पनि छन् । उनीहरु भने केन्द्रमा नयाँ अनुहार छन् ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।