विराटनगर । सरकारले गठन गरेको वार्ता टोली र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनकारीबीच मंगलबारबाट वार्ता सुरु भएको छ ।
सरकारले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनकारीसँग वार्ता गर्न डाक्टर कृष्णप्रसाद पौडेलको नेतृत्वमा तीन सदस्यीय समिति सोमबार बनाएको थियो । मंगलबार धरान आइपुगेको टोली र संयुक्त संघर्ष समितिबीच पहिलो चरणको वार्ता भएको हो ।
‘हामीले वार्ता टोलीसँग आफ्नो बटमलाइन र मागहरु प्रष्टसँग राखेका छौं’,संयुक्त संघर्ष समितिका डा. अमृत जैसीले भने ‘उहाँहरुले कुरा सुन्नुभयो । र, मन्त्रालयमा व्रिफिङपछि अहिले राति ८ बजे पुनः वार्तामा बस्ने कुरा भएको छ ।’
पौडेलको संयोजकत्वको वार्ता समितिमा स्वास्थ्य मन्त्रालयका कानुन उपसचिव मानबहादुर बस्नेत र प्रशासनका अधिकृत देवराज भण्डारी सदस्य छन् ।
प्रतिष्ठानमा ५० दिनदेखि चिकित्सक तथा विद्यार्थीहरु आन्दोलनमा छन् । उनीहरुले प्रतिष्ठानका पदाधिकारीसँग वार्ता नगर्ने अडानसहित उच्चस्तरीय वार्ता टोलीको माग गर्दै आएका थिए ।
आन्दोलनकारीले विपीका पदाधिकारीहरुको पदमुक्ति, शैक्षिक र स्वास्थ्य संस्थामा दलीय हस्तक्षेप रोक्न माग गर्दै आएका छन् ।